- रामकुमार एलन
असारमा पानी पर्दैन। जेठमा मल पाइन्न। साउनमा घर खेतै बगाउने बाढी आउँछ आँगनैसम्म । सुतिरहेका नागरिक माथिबाट पहिरोले पुरिएर बेपत्ता हुन्छन् । असोजमा आउने बाढीले काठमाडौँ नै बगाउँदा पनि गृहमन्त्री रमेश लेखक ‘भिजिबिलिटी’ नभएको भन्दै बगिरहेका नागरिकको उद्धारमा असमर्थता जनाएको हेरेकै हौँ ।
पछिल्ला यस्ता केही दृश्य हेर्दै देश फेर्न चाहनेहरूले २०८२ फागुन २१ गते मन फेरेनन्, खल्तीमा क्रियाशील र सङ्गठित सदस्य अनि मनमा हिन्दु र राजाको मोह राख्दै नयाँलाई भोट हाले । त्यसले एकसाथ पुराना भनिएका कांग्रेस–एमाले–राप्रपा बढारियो ।
मधेशमा मधेशवादीहरु लखेटिए । प्रदेश र स्थानीय तहका सरकारका आयु सकिँदै गर्दा पालिका र वडा तहमा पुग्नु पर्ने कांग्रेस अहिले ‘कि तँ छैन, कि म छैन’ भनेर निर्बाध लिगलिगे दौडमा छ । फैसलामा चित्त बुझेन भनेर फेरि त्यही अदालतमा पसाङ्ग्रिएकाे छ । अदालतले नैतिकता पढाउने मात्रै हो, नैतिकतामा बस्ने त आदेश पाएकाहरू हुन् । तर आदेश मान्नैपर्छ भन्ने के छ र ?
र त, विशेष महाधिवेशन पक्षधरहरू सामाजिक सञ्जालमा सक्रिय छन्, पुरानाहरू आमसभामा गाली महोत्सव गरिरहेका छन् । गाउँसम्म भाँचिएको कार्यकर्ताको मन बाँध्ने एकताको बाँध हुनुपर्नेमा आआफैँ जुधेर सँगै जोत्ने साथीलाई भिरबाट लडाउन खोज्दा सिङ भाँच्चिएर रगतपच्छे देखिएको थाकेको गोरुको बहादुरीतामा मुलुकको प्रमुख प्रतिपक्षी अवतार छ । यसले न कार्यकर्तामा उत्साह छ, न नेतामा सपना छ । मात्र तुषको भकारीले आफैँ छोपिएका छन् । परसम्म एउटै गाउँमा १३ जना पहिरोले पुरिएर जनता मरेको देखेकै छैनन् ।
कांग्रेस एक होला कि नहोला ? सबैले सोचिरहेका छन् । २०७२ सालमा भूकम्प गयो । त्यही वर्ष अघोषित नाकाबन्दी भयो । संविधान जारी नगर्न एक प्रकारको दबाब थियो र त्यो असहमति बेच्दै सत्तामा पुगिरहने मधेशी नेताहरूलाई यस पटक रुबी ठाकुर र मनिष झाहरूले आगो झोसे । हामी पनि सुध्रिन पाउँ भन्दै अमरेश कुमार र रहबर अन्सारीहरू पनि जोडिए । फलतः मधेशमा मधेशवादी दलहरू भागाभाग भए । गौर काण्डको त्रासले उपेन्द्र यादव र प्रभु शाहहरु मिल्नैपर्याे । त्यसमा रेशम चौधरी र सिके राउतहरू पनि थपिएछन् । यो अग्रगामी मोर्चाले न मधेशको असन्तुष्टि सम्बोधन गर्छ, न नयाँहरूसँग लड्न सक्ने ‘हुति आपूर्ति केन्द्र’ नै बन्न सक्छ । छ न त त्यहाँ जनार्दन शर्मा पनि छन् क्यारे !
२०७२ को भूकम्प र नाकाबन्दीमा केपी ओलीलाई साथ दिनेहरू आवारा थिएनन् । ती ‘ओली डक्ट्रिन’ मा विद्यावारिधि गर्दै थिए । उनले बोलेका कुराहरू कानुन हुन्, खराउ लगेर भए पनि दशौँ महाधिवेशनमा ओलीलाई अध्यक्ष बनाउँछु भन्ने महेश बस्नेतको कमानमा अहिले एमालेको देखभाल भइरहेको छ । त्यतिखेर आधा सिलिण्डर ग्यास पनि नपाएर तीनकुनेतिरका ‘सालाकेटा’ लाई दाउराको ठेक्का दिँदा सबैले ‘वाह, ओली’ भने ।
नेकपाका प्रचण्डसँग हातेमालो गर्दै एउटै चुनाव चिन्हमा जाने तयारीमा त्यतिखेर वर्षमान पुन अनन्तहरु भाँजो भए । फेरि पनि झन्डै दुई तिहाइको बहुमतको छेउछाउमा कम्युनिस्टहरू पुग्दा पछारिएका माधवकुमार नेपाल र झलनाथ खनाल मात्रै होइन, भारण्डपंक्षी अवतारका आधा विष खाने र नर्क पनि सँगै जाने सारथि पुष्पकमल दाहाल प्रचण्ड पनि हत्तु हैरान पारिए । आन्दोलनको जगमा केपी शर्मा ओली सदस्यतारहित भए । यो राजनीतिले माओवादीलाई पेरिसडाँडातिरै फर्कायो । तर झलनाथ खनाल र माधवकुमार नेपाललाई एमाले मुख्यालयमा स्वागत भएन ।
यो एक दशक एमालेमा माधवकुमार नेपाल र झलनाथ खनाललाई भिरमा पुर्याएर एकथान टिकट, केहीदिने मन्त्री, जनसङ्गठनमा पदाधिकारी हुने रहरले भरिपूर्ण युवा रगतहरू सम्झन्छु । कहाँबाट सुरु गरौँ नामहरू ? सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, ठाकुर गैरे, रचना खड्का, नरेश रोकाया, समिक बडाल हुँदै जेनजी आन्दोलनमा म अनेरास्ववियु होइन भन्ने डाक्टर भाइहरु सबैको अनुहार सम्झँदा सत्तामा जो छ, उसलाई पालिस गरेर हेभिवेट देखिन चाहने माधव नेपालले भन्ने गरेको ‘फिदरवेट’हरुले ओलीलाई देवता मात्रै बनाएनन् ।
‘बोल्ने देवता’ करार गरिदिए । उनले चाहेअनुसार नियुक्ति, पार्टी सदस्यता मात्रै होइन, महाधिवेशनसमेत गरिदिने दस्ता बन्यो । झन्डै झन्डै एउटा बाबाको झुन्डजस्तो स्वर्गलोक बन्यो एमाले । अहिले यसको कमानमा विष्णु रिमाल होइनन्, महेश बस्नेत छन् र दीपक पाठकहरू विष्णु रिमाललाई गाली गरिरहेका छन् दीपक पाण्डेको शोमा । जहाँ दाम दक्षिणा, आशीर्वादले काम गरेको छ । मदन भण्डारीकी पत्नी, दुई पटक राष्ट्रपति भएको नारीले ‘एमाले हुँ’ भन्न नपाउने निषेधमा केही मनुवा फुक्काफाल भएर अन्यायबोध गर्न नसक्ने सामान्य चेतनाहीन नर साबित भए ।
चितवनको राजनीतिमा कार्यकर्ताले नभेटेका, नदेखेका, नछामेका रामबहादुर थापाहरूलाई यो पार्टी फलिफाप भइरहेको छ । पार्टी प्रवक्ता, संसदीय दलका नेता हुँदै अब पार्टीमा नेतृत्व पनि फेरि एक पटक सँगै नर्क जान इच्छुक पुष्पकमल दाहाल प्रचण्डको साथले होला ।
सायद अध्यक्ष केपी शर्मा ओलीले क्यान्टिनमा बसेर साधारण सदस्य नभएकासमेत आवाराहरूले अध्यक्ष हटाउँछु भनिरहेको बताउनु भएको छ । उहाँले झलनाथ खनाल प्रधानमन्त्री हुँदा बोल्नु भएका भिडियोहरू हेर्नुहोस् । माधवकुमार नेपालविरुद्ध बोल्नु भएका भिडियोहरू हेर्नुहोस् । घनश्याम भुसालले बोलेको पनि सुन्न नसक्ने र सुरेन्द्र पाण्डे देख्न नसक्ने रुचिसँगै ईश्वर पोखरेल र विद्या भण्डारीलाई समेत गर्नु भएको व्यवहार काफी थिए ।
५२ वर्ष एमाले भएर चितवन एमालेमा ओली पक्षधर पराजित हुँदा एमाले भन्दा बलियो मदन भण्डारी फाउन्डेसन चलाएर यहाँसम्म आइपुगेका जेएन थपलिया पनि ओलीका भएनन् र अध्यक्ष निवासमा ढलेर हप्तौँ अस्पताल बस्दा स्वास्थ्यबारे बुझ्नसमेत फुर्सद भएन अनि अस्पतालबाट डिस्चार्ज भएका दिन अविश्वासको प्रस्तावले फेरि अस्पताल जाने बनाउने पारियो ।
यहाँसम्म आवारा को थिए ? दुई ठूला पार्टीका अध्यक्षको सहमतिमा दुई तिहाइको बहुमतको सरकारमा हुँदा जेनजीले कसलाई लखेटेको हो ? आपतकाल आइलागेपछि विष्णु पौडेल, प्रदीप ज्ञवालीलाई छाडेर सेनाको हेलिकप्टरमा भाग्दा जोगाउन नआउनेहरू सबै आवारा हुन् ? यतिखेर प्रतिवेदन लेखनले शिरदर्द भोगिरहेका अध्यक्षज्यूलाई शङ्कर पोखरेलसमेत मन परेको छैन भने अरू को मन पर्ने ? यस पटक उहाँले सबैलाई आवारा देख्नु भएको छ । उहाँले अरविन्द सिंह, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, ईश्वर पोखरेललाई होइन, शङ्कर पोखरेलहरूलाई पनि भनिरहनु भएको छ, ‘मनपरी चल्दैन ।’
भारतमा एउटा उच्च अदालतको न्यायाधीशले युवापुस्तालाई कक्रोज भन्दा बलशाली मोदी सरकार थर्कमान छ । यहाँ पुराना पार्टीहरू आफैँ मक्किइरहेका छन् । सक्किइरहेका छन् । जुध्नुछ बालेन र रवि लामिछानेको दस्तासँग । रिस उठिरहेको छ आफ्नै पार्टीको क्यान्टिनमा आफ्नै पैसाले चिया पिउनेहरूसँग ।
२०७२ मा गाउँबाट ग्यासको सिलिन्डर पठाइदिने कान्छो भाइ सम्झन्छु र एमालेमा तातो रगतले दिएको साथ सम्झन्छु । भोकै मर्नुपर्ला भनेर गाउँ फर्किएको नियति सम्झन्छु ।
एसईई दिने बेला प्रवेश पत्र बोकेर कोरोना कहरले छोरी गाउँ फर्किएको सम्झन्छु ।
डेंगुले जनता मरेर गाउँ फर्किएको सम्झन्छु ।
काठमाडौँको फुटपाथबाट मेयर बालेनले व्यापारी लखेटेपछि उनीहरू गाउँ फर्किएको सम्झन्छु ।
एमसिसीको आन्दोलनमा पानीको फोहोराले जनताको छोरा मरेको सम्झन्छु ।
माधव कुमार नेपाल प्रधानमन्त्री हुँदा सरकार ढाल्न जनता हिँडाएर काठमाडौँ लैजाँदा मरेका कैयौँ जनताको अनुहार सम्झन्छु र फेरि पुष्पकमल दाहालका दशकमै तीन पटक फेरिने आवरण सम्झन्छु ।
असोजमा आएको बाढीले काठमाडौँसँग सम्बन्ध टुटेको सम्झन्छु र गाउँ फर्कनेहरूको रुवाबासी र पैदल हिँडाइका तस्बिरहरू सम्झन्छु ।
यतिखेर छोरा काठमाडौँमा छ, आन्दोलनको आगोमा नपस है भनेर एक वर्षअघि भोकै कोठामा राखेको सम्झन्छु ।
अहिले कोठामा ग्यास सकिएको छ र हेटौँडाबाट ग्यास पठाउन पर्ने बाध्यता सम्झन्छु ।
जनता भनिरहेका छन्– पुरानामा भर छैन, नयाँमा आसा छैन ।
यस्तो बेला क्यान्टिनमा चिया पिएर गफिने म बेहद आवारा हुँ, आवारा साम्यवादको ठिमाहा हुँ । आज आवारा खेतीले आफूलाई असल र मलाई कमसल ठिमाहा घोषणा गर्दा पनि चेत आएन भने अब मेरो पुस्ताले नपाउने दुःख पाउँछ भन्ने चेत नआउने आफू र सन्ततिको भविष्यप्रति बेवास्ता गर्ने बेहद बदमास आवारा हुँ ।
अनुरोध :
तपाईँ चैँ मजस्तै आवारा नहुनुहोस् है ! क्यान्टिनमै क्रान्तिका कुरा सुनेर यहाँसम्म आइपुगियो । अहिले थाहा भयो, म त क्यान्टिनको आवारा भएछु । यसअघि एमालेमा आसा जगाउँदै लेखिएका कैयौँ निबन्ध, कथाहरूले मलाई नै जिस्काइरहेको भान हुन्छ, तपाईँलाई कस्तो हुन्छ कुन्नि ?
