नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही-४ मा पराजित भएका छन् । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेशकुमार सिंह तेस्रोपटक विजयी भए । सिंहले ३५ हजार ६ सय ८८ मत प्राप्त गर्दा कांग्रेस सभापति गगनकुमार थापा २२ हजार ८ सय ३८ मतमा रोकिए ।
काठमाडौंमा तीनपटक जितेका थापा मधेश झरेर पराजित भए । सुरूदेखि नै सिंहको अग्रताले थापाको मधेशबाट जित्ने आकांक्षा पूरा हुन सकेन ।
यस्तै, समुन्नत नेपाल पार्टीका अध्यक्ष तथा पूर्वआईजीपी सर्वेन्द्र खनाल बारा-४ बाट उम्मेदवार भएका थिए । उनी रास्वपाकै रहवर अनसारीसँग पराजित भएका छन् । बारा-४ नै रोजेर रास्वपासँग पराजित हुनेमा राष्ट्रिय निर्माण दल नेपालका अध्यक्ष समिम मियाँ अन्सारी पनि छन् ।
अन्सारी नेपाल मुस्लिम आयोगका पूर्वअध्यक्ष थिए । यहाँ पार्टीका दुई अध्यक्षको रोलकल चौथो, पाँचौँतिर झरेको छ । रहबर अन्सारी ४१ हजार २ सय मत ल्याएर विजयी हुँदा नेकपा एमालेका कृष्ण कुमार श्रेष्ठ किसान ११ हजार ६ सय ३९ मतमा रोकिए ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव सप्तरी-३ मा उम्मेदवार भएका थिए । उनी सप्तरी २ मा उम्मेदवार हुन चाहन्थे । जनमतका अध्यक्ष डा. सीके राउतलाई सप्तरी २ नै चाहिने भएपछि सप्तरी ३ मा ओर्लिए । यहाँ उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका अमरकान्त चौधरीले सुरुवाती चरणदेखि नै कमजोर बनाउँदै-बनाउँदै पराजयको स्वाद चखाइदिए ।
यस्तै, जनमत पार्टीका अध्यक्ष सीके राउत पनि सप्तरी-२ मै उम्मेदवार भएका थिए । उनी त्यही क्षेत्रबाट जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई हराउने निवर्तमान सांसद हुन् । यसपटक यादवलाई टिक्न नदिएका उनले पराजय स्वीकारिसकेका छन् । सामाजिक सञ्जालमा सन्देश लेख्दै सबै हारेकाले यो हारलाई अन्यथा नलिन भनेका छन् । उनलाई पनि रास्वपाले पराजयको स्वाद चखाएको हो । औपचारिक घोषणा भने हुन बाँकी छ ।
नेकपा एमाले र माओवादीमा मधेशको युवापुस्ताबाट हैसियत बनाएका तर त्यहाँ नबसेर पनि स्वतन्त्र सांसद जितेर आम जनता पार्टी स्थापना गरेका अध्यक्ष प्रभु साह रौतहट-३ मा पराजित हुने संघारमै पुगेका छन् । उनको मौलापुर मधेशमा मौलिक र नमूना विकास क्षेत्र हुँदाहुँदै यसपटक जित निकाल्न सकेनन् । रौतहट-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रविन्द्र पटेलको अग्रता कायमै छ, मध्यान्हपछि नतिजा आउने अवस्था छ । यहाँ प्रभु साह तेस्रो स्थानमा छन् ।
राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतो सर्लाही-२ बाट उम्मेदवार भएका थिए । नतिजामा उनी चौथो भएका छन् । २०७९ को निर्वाचनमा नेकपा माओवादी केन्द्रको चुनाव चिह्न लिएर उठेका महेन्द्र राय यादवसँग पराजित भएका महतोसँग यसपटक रास्वपाका युवा उम्मेदवारले जित्दा यादव पनि हारेका छन् ।
रास्वपाका रविन महतो ४२ हजार ५ सय १२ मतसहित निर्वाचित हुँदा महिन्द्र राय यादवले जम्मा ८ हजार ५ सय २३ मत पाए । नेपाली कांग्रेसका डा. सरोज कुमारले ७ हजार ३९ र राष्ट्रिय मुक्ति पार्टीका राजेन्द्र महतोले ५ हजार ९ सय ९२ मत पाएका छन् ।
यस्तै, नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारी महोत्तरी-३ बाट उम्मेदवार भएका थिए । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उज्ज्वलकुमार झा ३२ हजार ४ सय ५१ मत प्राप्त गरी विजयी हुँदा निकटतम प्रतिस्पर्धी बनेका नेपाल सङ्घीय समाजवादी पार्टीका मोहम्मद रिजवान अन्सारी २६ हजार ४ सय ८२ मतमा रोकिएका छन् ।
मधेशका ८ जिल्लामा ३२ निर्वाचन क्षेत्र थिए । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा मधेशमा एमालेले १०, जसपाले ६, लोसपाले ३ र जनमत पार्टीले एउटा सिट हात पारेको थियो । त्यसैगरी नेपाली कांग्रेसले ७, नेकपा माओवादीले ३ र दुईजना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका थिए ।
त्यतिखेरका दुई स्वतन्त्र सांसदमा डा. अमरेशकुमार सिंह रास्वपा प्रवेश गरी कांग्रेस सभापति गगन थापा हराउने हैसियतमा पुगेका भने अर्का स्वतन्त्र सांसद प्रभु साह पार्टी स्थापना गरेर वैकल्पिक राजनीतिक शक्ति बन्न खोज्दा रास्वपाबाटै पराजयको सिकार भएका छन् ।
