हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरको पदाधिकारी चयन भएको छ ।
आइतबार बसेको बैठकले पदाधिकारी चयन गरेको हो ।
पार्टीमा सागर थापा, बालकुमार डल्लाकोटी र मन डिसी उपाध्यक्ष चयन भएका छन् । यस्तै, सचिवमा कृष्णप्रसाद हुमागाईं, प्रवक्तामा कविन्द्रराज भट्टराई, कोषाध्यक्षमा कुमारमणि दाहाल र सहसचिवमा सन्दिपकुमार सापकोटा र विवेक रसाइली विक चयन भएको अध्यक्ष ऋषिलाल श्रेष्ठले बताए ।
राप्रपाले ८ जना जिल्ला सदस्य पनि मनोनयन गरेको छ । सागर थापा, कुमारमणि दाहाल, ध्रुवप्रसाद सञ्जेल, मिठाराम खड्का, दीपक थापा, सुवास गुरुङ, राजाराम अर्याल र विकास भोम्जनलाई सदस्यमा मनोनयन गरिएको हो ।
सदस्यमा मनोनयन भएका कुमारमणि दाहाल कोषाध्यक्ष भएका छन् भने सागर थापा उपाध्यक्ष बनेका छन् । उनी राप्रपा मकवानपुरका पुराना नेता लोकबहादुर थापाका छोरा हुन् ।
लोकबहादुर थापा पूर्वी भेगमा राष्ट्रवादी नेता र तत्कालीन फापरबारी र हालको बागमतीका अभिभावक हुन् । उनी २०४९ मा फापरबारी गाविस अध्यक्ष भएका थिए । २०५४ मा उनका भाइ तोपबहादुर थापा गाविस अध्यक्ष भएका थिए ।
लोकबहादुर थापा भने २०४७ देखि ५९ सम्म राप्रपा मकवानपुरका पार्टी अध्यक्ष भएका थिए भने पछि सबै दलहरुको सहमतिमा राष्ट्रिय सभा सदस्य भएका थिए । उनकै छोरा सागर थापा राप्रपा मकवानपुरमा सदस्य मनोनीत हुँदैै उपाध्यक्ष पदमा पुगेका हुन् । थापाको चयनसँगै बागमतीमा राष्ट्रवादी शक्ति पुनः सक्रिय बन्ने अध्यक्ष ऋषिलाल श्रेष्ठले बताए ।
केही दिनअघि भएको राप्रपाको निर्वाचनमा अध्यक्षबाहेकका सदस्य पदहरु निर्विरोध चयन भएका थिए । अध्यक्षमा भने ऋषिलाल श्रेष्ठ निर्वाचनबाट विजयी भएका हुन् ।
