Menu

कर तिर्ने नागरिक, खाल्डो दिने सरकार

Author
Ramkumar Elan from Makawanpur |
September 25, 2026
Featured

 

–विशाल राज महत

सडकमा दैनिक लाखौँ सवारीसाधन गुड्छन्। लाखौँ मानिस आफ्नो गन्तव्यतर्फ यात्रा गर्छन्। कसैलाई कार्यालय पुग्नु छ, कसैलाई व्यापार गर्नुछ, कसैलाई अस्पताल, विद्यालय वा घर पुग्नु छ। तर यही सडक कहिलेकाहीँ गन्तव्य होइन, मृत्युको बाटो बन्न पुग्छ।

सडक दुर्घटनाका कारण अनेक छन्। तीव्र गति, चालकको लापरबाही, ट्राफिक नियम उल्लंघनलगायतका कारण हामीले सुन्दै आएका छौँ। तर सडकमा रहेका खाल्डाखुल्टीलाई दुर्घटनाको एउटा गम्भीर कारणका रूपमा कति गम्भीरतापूर्वक लिइन्छ ?

पथलैया निजगढ  सडकखण्डमा सयौँ खाल्डाखुल्टी रहेको अवस्थामा त्यही सडकमा यात्रा गर्दा हेटौँडाका कलाकारिता क्षेत्रमा सक्रिय कोसिस क्षेत्री र उनकी श्रीमती सन्ध्या ढुङ्गाना  मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भै  हाल हेटौँडा सहकारी अस्पतालमा उपचाररत छन्। यो कुनै एक परिवारको मात्र पीडा होइन। केही दिनअघि मात्रै सोही क्षेत्रमा दुर्घटनामा परेका व्यक्ति निजगढमा उपचाररत रहेको बताइन्छ। केही समयअघि हेटौँडा बस्तिपुर सडकखण्डमा सडकको खाल्डोमा परेर राम शाहीले ज्यान गुमाउनुपरेको घटना पनि हामीले भोगिसकेका छौँ।

यस्ता घटना नेपालका सडकमा नौला होइनन्। कति घाइते हुन्छन्, कति अपाङ्ग हुन्छन्, कति परिवारले ऋण गरेर उपचार गराउँछन् र कति परिवारले आफ्ना प्रियजन सधैँका लागि गुमाउँछन् यसको वास्तविक हिसाब सायद कुनै सरकारी फाइलमा भेटिँदैन।

अब प्रश्न उठ्छ जिम्मेवार को ?

दुर्घटना भयो भन्दैमा हरेक पटक चालकलाई मात्र दोष दिएर राज्य आफ्नो दायित्वबाट उम्किन मिल्छ ?

नागरिकले सडकमा सवारी चलाउँदा वर्षेनि सवारी कर तिर्छ। पेट्रोलियम पदार्थमा पूर्वाधार कर, सडक मर्मतसम्बन्धी कर तथा अन्य शीर्षकमा कर तिर्छ। कर तिर्न केही दिन ढिला भयो भने राज्यले जरिवाना असुल्छ। निजी सवारी पुरानो हुँदै जाँदा थप शुल्क र करको भार पनि थपिँदै जान्छ।

नागरिकले कर तिरेपछि राज्यसँग ठूलो माग गरेको होइन सुरक्षित सडक मागेको हो।

तर विडम्बना हेरौँ, राज्यलाई नागरिकको कर समयमै चाहिन्छ, तर नागरिकलाई सुरक्षित सडक दिनचाहिँ वर्षौँ लाग्छ। सडकमा खाल्डो पर्छ, दुर्घटना हुन्छ, नागरिक घाइते हुन्छ, कतिपयको ज्यान जान्छस त्यसपछि मात्र सम्बन्धित निकायको ध्यानाकर्षण हुन्छ। त्यो पनि केही दिनपछि फेरि उही अवस्था।

के सडकको खाल्डो पुर्न नागरिकको ज्यान जानैपर्छ ?

सरकार अभिभावक हो। अभिभावकले आफ्ना नागरिकको जीवन सुरक्षालाई प्राथमिकतामा राख्नुपर्छ। सडक निर्माण गर्नु मात्र सरकारको दायित्व होइन, निर्माण गरिएको सडकलाई सुरक्षित र प्रयोगयोग्य अवस्थामा राख्नु पनि उत्तिकै महत्वपूर्ण दायित्व हो।

एउटा खाल्डो सरकारका लागि सामान्य प्राविधिक समस्या होला, तर त्यही खाल्डो कुनै परिवारका लागि जीवनभरको पीडा बन्न सक्छ। अस्पतालको बेडमा छटपटाइरहेको घाइते, उपचार खर्च जुटाउन नसकेको परिवार र अकालमै निभेको एउटा जीवनलाई कुनै बजेट, ठेक्का वा सरकारी स्पष्टीकरणले क्षतिपूर्ति दिन सक्दैन।

त्यसैले अब नागरिकले पनि प्रश्न गर्नुपर्छ कर तिर्ने नागरिक जिम्मेवार हुन्छ भने कर लिने सरकारचाहिँ कहिले जिम्मेवार हुन्छ ?

सडकमा खाल्डो देख्नु केवल सडक विभागको समस्या होइन, यो राज्यको जवाफदेहिताको परीक्षा हो।

नागरिकलाई कर तिर्न सिकाउने राज्यले अब सुरक्षित सडक दिन पनि सिक्नुपर्छ। करको रसिद हातमा बोकेको नागरिकले सुरक्षित यात्राको अधिकार पनि बोकेको हुन्छ। नागरिकको जीवनसँग खेलवाड गर्ने छुट कुनै सरकारलाई छैन।



यो पढेर कस्तो महसूस भयो?

साहित्य $type=triple-post$count=9

लेख $type=triple-post$count=3

AD