काठमाडौं । नेपाली कम्युनिष्ट आन्दोलनमा विचार र युद्धको तुफान ल्याउने नेताहरूको राजनीति निर्वाचनमा अनुमोदन हुन सकेको छैन । जेन-जी आन्दोलनपछि दल दर्ता गरेर निर्वाचनमा आएका तीन नेता घनश्याम भुसाल, जनार्दन शर्मा र नेत्रविक्रम चन्द ‘विप्लव’ को राजनीतिक धार जनताले नरुचाएको देखिएको छ ।
समानुपातिक मतगणना एक करोड ३ लाख ७५ हजार गणनामा उनीहरू ३ जनाको मत जोड्दा ५० हजार छेउछाउ पुग्नुले कम्युनिष्ट आन्दोलनका दोस्रो पुस्ताका नेताहरुको राजनीतिक भविष्यमाथि नै प्रश्न चिन्ह खडा भएको छ ।
नेकपा माओवादीमा आफूलाई अबको नेतृत्वको दाबी गरिरहँदा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग दूरी बढेर पार्टी नै छाडेर हिँडेका जनार्दन शर्माले स्थापना गरेको प्रगतिशील लोकतान्त्रिक पार्टीलाई जनताले नरुचाएको देखिएको छ । उनी स्वयं आफ्नो आधार इलाका जिल्लाबाट पराजित भएका छन् ।
रुकुम पश्चिममा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार गोपाल शर्मा २१ हजार ६ सय ९ मत ल्याएर विजयी हुँदा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का उम्मेदवार जनार्दन शर्मा तेस्रो स्थानमा रहे । उनले १४ हजार ३ सय ४६ मत ल्याए । उनी त्यहाँ २०६४ सालपछिका सबै निर्वाचनमा साविकको माओवादीबाट निरन्तर जित्दै आएका नेता थिए ।
यस्तै, फेरि जनयुद्धको तयारी भन्दै भूमिगत राजनीतिमा होमिएका नेत्रविक्रम चन्द विप्लवले सार्वजनिक भएर नेकपा माओवादी केन्द्रमा समाहित हुनेसम्मको योजना असफल हुँदा नेकपा माओवादी दर्ता गरेर निर्वाचनमा होमिँदा उनको पनि धरातल निकै कमजोर देखिएको छ । ४० हजार दलित रहेको कालीकोटमा उम्मेदवार बनेका विप्लव नेतृत्वको पार्टीका उम्मेदवार छविलाल विश्वकर्मा प्रकाण्ड १८ वर्षपछि निर्वाचनमा फर्किएर पराजित भएका छन् ।
उनी २०६४ मा यही भूगोलमा निर्वाचित अनुहार हुन् । निर्वाचनपछि विप्लवले भनेका छन्, ‘पुँजीवाद रहेसम्म समाजवादी-साम्यवादी क्रान्ति जारी रहनेछ ।’ १ सय ३० स्थानमा उठेका उम्मेदवारहरुको अवस्था निरीह देखिए पनि विप्लवले मतदाता र नेता कार्यकर्तालाई धन्यवाद दिँदै निरन्तर यात्रामा रहने बताएका छन् ।
यता, नेकपा एमालेले अघिल्लो निर्वाचनमै उम्मेदवार नबनाएपछि बिच्किएर हिँडेका एमालेका तत्कालीन उपमहासचिव घनश्याम भूसाल वैचारिक धारका हिसाबले पछिल्लो पुस्ताले आसा गरेका समाजवादी नेतामा पर्छन । उनी माधव नेपाल र झलनाथ खनाल नेतृत्वको नेकपा एकीकृत समाजादीमा आएर महासचिव भए ।
महाधिवेशनमा खनालले साथ नदिएपछि अध्यक्ष हुन सकेनन्, फेरि महासचिव दोहोरिए । नेपाल-खनाल प्रचण्ड नेतृत्वको नेकपामा समाहित हुँदा उनी त्यहाँ गएनन् । चन्द्रदेव जोशी नेतृत्वको नेकपा संयुक्तमा रहेर निर्वाचनमा सहभागी भए । आफैँ त चुनाव उठेनन् तर उनको विचार पनि जनतामा बहिष्कृत भएको छ ।
निर्वाचन आयोगका अनुसार, मंगलबार बिहान ९ बजेसम्म भएको १ करोड ३ लाख ७५ हजार समानुपातिक मतगणनामा शर्माको पार्टी प्रगतिशील लोकतान्त्रिक पार्टीले २३ हजार ७ सय २८ मत ल्याएको छ । यस्तै, विप्लवको पार्टी नेकपा माओवादीले २३ हजार ४ सय २३ मत ल्याएको छ ।
भुसालको पार्टी नेकपा संयुक्तले ४ हजार ४ सय २ मत ल्याएको छ । जबकि भुसालको पुरानो पार्टी नेकपा एमालेले समानुपातिकमा १४ लाख २ हजार ९ सय ४० मत ल्याएको छ । शर्माको पुरानो पार्टी नेकपाले ७ लाख ६४ हजार ३ सय ६१ मत ल्याएको छ ।
निर्वाचनमा देशभर रास्वपाको लहर आएपछि र पुराना पार्टीहरु अझ कम्युनिष्ट पार्टीहरू कमजोर भएपछि भुसालले भनेका छन्, ‘अब हतार नगरी आत्मालोचना गरेर कम्युनिष्ट पार्टीहरु एकीकरण गरौँ ।’ प्रश्न एकीकरणको मात्रै होइन, सुधारिएको नेतृत्वको पनि हो ।
नेकपा एमालेमा पनि यो बहस सोमबारबाटै सुरु भएको समाचार आएको छ । अझ निर्वाचनमा उठेका अध्यक्षसहित सबै पदाधिकारी हारेको एमालेमा नेतृत्व कस्तो बनाउने बहससँगै एमाले उठाउने चुनौतीमा अरु कम्युनिष्ट पार्टीहरू मिलेर के हुन्छ, नमिलेर के हुन्छ भन्ने पनि देखिएको छ ।
घनश्याम भुसाल, जनार्दन शर्मा र नेत्रविक्रम चन्द विप्लवको समाजवादी मोडलहरू भन्दा जनताको बहुदलीय जनवाद अंगीकार गर्ने एमाले र मार्क्सवादी विचारको नेकपासँग ४ हजार मत ल्याउने पार्टीहरुको एकता कस्तो हुने ? यो विषयमा भुसाल, विप्लव र शर्माहरूले कति आत्मालोचना र समीक्षा गर्नु पर्ने ? उनीहरूले नै भन्दा हुन्छ ।
रास्वपामा कुलमान ल्याउँदा जनजाति मतभन्दा बालेन ल्याउँदा मधेशका आधा जनसंख्या प्रभावित हुन्छ भनेरै रवि लामिछानेले मोलेको जोखिम सफल भइरहँदा कम्युनिष्ट पार्टीमा भने नेताहरूको एकअर्कामा सास गन्हाएर एक ठाउँमै बस्न नसक्ने अवस्थामा एकता किन ? नेतृत्वमा को ? निर्वाचन परिणामले त एमाले र साविकको माओवादी छाड्नेहरूलाई नै कमजोर पारेको विषय भुसाल, शर्मा र विप्लवले स्वीकार्नु पर्छ । उनीहरुको विचार जनतामा अनुमोदन नभएकै हो ।
