रैमट्टै पाराले, दुःख पाए साराले

१८ पुष २०७७, शनिबार २१:०९
–रामकुमार एलन

२०७६ असोज २८ गते नेपाली कांग्रेसका नेताहरुको भेलामा मकवानपुरका पूर्व सभापति रघुरमण न्यौपानेले भनेका थिए, ‘हेर्दै जाऊ, ६ महिनापछि मुलुकमा के के हुन्छ ? ढिलोचाँडो यो व्यवस्था कोल्याप्स हुन्छ ।’ न्यौपानेले त्यसो भन्नुको कारण के थियो भने, केपी ओली सरकारका ३ वर्ष यसै बिते अब २ वर्ष यतिकै बित्छ, जनता यति निरास छन् कि हाम्रो बहुमत यतिकै आउँछ, अहिले संगठन गरिरहन पर्दैन, जनमत कांग्रेसकै हो भन्नेहरु टन्नै थिए । आफ्नो पालो आएपछि न्यौपानेले भनेका थिए यस्तो ।

६ पुसको चिसोसम्म आइपुग्दा न्यौपाने बिरामी परेर निको हुने क्रममा हुनुहुन्छ । निकै गल्नु भएको छ तर ऊर्जा उस्तै छ । केहीदिनअघि हेटौंडामा नेपाली कांग्रेसले ‘तनहुँ पुलकाण्ड’ प्रकरणमा शक्ति देखाउने क्रममा सभापति शेरबहादुर देउवा र प्रवक्ता विश्वप्रकाश शर्मालाई उतारेको थियो । बिरामी भएर सुतिरहेका पूर्वसभापति न्यौपानेबारे ‘सन्चोबिसन्चो’ समेत देउवा र शर्माले सोध्न भ्याउनु भएन । त्यतिमात्रै होइन, अर्का पूर्व सभापति माइकल रामचन्द्र अर्याललाई मञ्चमा आसन ग्रहण पनि गराइएन । नेविसंघका महामन्त्री प्रभात दाहाल पनि मञ्चमा बस्न पाएनन् । पार्टीभित्र कति लठिभद्र छ, तिमीहरु देख्दैनौ, लेख्दैनौ भनेर नेताज्यूहरु बेलाबेला सम्झाउनु हुन्छ पनि । बोल्न नदिए पनि यो पार्टीलाई यति बनाउन लागेका नेताहरु ओझेलमा पारियो भनेर जिल्लातहका नेताहरुले सोच्न पनि समय नपाइरहेको बेला छ ।

अहिले रघुरमण न्यौपानेको त्यो अड्कल कसरी मिल्दै गयो भनेर पुराना कुरा कोट्याउनु अघि प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो कार्यकालका केही घटनाक्रमहरु हेर्दा पनि कतै यो व्यवस्था विघटनको छेउमा त छैन भन्ने देखिन्छ । प्रधानमन्त्रीले संसद विघटन गरेका दिन नै हेटौंडामा राजावादीहरुले दीप प्रज्वलन गरे । स्वागतमा आउनु पर्ने पंक्ति आउन सकेको छैन, पार्टीभित्रै विरोध कायमै छ, खुशियाली मनाउने जमात कमल थापा भन्दा अग्रगामी बनेर जुलुश निकालिरहेको छ, मैनबत्ती खपत गरिरहेको छ । प्रधानमन्त्रीले राष्ट्रिय अनुसन्धान र भन्सार विभाग आफ्नो आँगनमा लैजानु भयो, दोस्रो कार्यकालमा । राजनीतिक घटनाक्रम यसरी बढिरहेको थियो कि, केही दिनअघि एक टेलिभिजन अन्तर्वार्तामा वरिष्ठ नेता माधवकुमार नेपालको भनाइ सुनेर धेरै नेता कार्यकर्ता निरास भए । यसमा फेरि प्रधानमन्त्रीकै तर्कले जित्छ, मलाई कामै गर्नै दिएनन् भन्ने प्रधानमन्त्रीको तर्कमा दम हो भने त्यो दमले माधव नेपाललाई पनि अर्को जवाफ खोजिरहन पर्दैन । यसको एउटा उदाहरण ६ वर्षअघिको फोन काण्ड सम्झे पुग्छ ।

२०७० असारमा भएको नेकपा एमालेको नवौँ महाधिवेशनमा थोरै मतले पराजित माधवकुमार नेपाल सिन्धुली जानु भएको थियो कार्यक्रमको सिलसिलामा । खोई के निर्णय हुँदै थियो, सायद यस्तै सूचना पुग्यो नेपाललाई र फर्कने क्रममा १७ पटकजति नेपालले ओलीलाई फोन लगाउनु भयो । सिन्धुलीबाट काठमाडौं आइपुग्दासम्म नेपालले फोन लगाइरहनु भयो, प्रधानमन्त्रीले उठाउन भ्याउनु भएन या उठाउनु जरुरी ठान्नु भएन । माधव नेपालजतिको नेताको फोन रेस्पोन्स गर्न जरुरी नठान्ने प्रधानमन्त्रीसँग सायद साँझ कुरा भयो । नेपालको आग्रह थियो, ‘यस्तो गर्दै हुनुहुन्छ रे, त्यसो नगर्नुहोस् है, फेरि पार्टीमा भूकम्प जाला ।’ सबैलाई मिलाएर निर्णय गर्न भनिएको हो खासमा । लगत्तै मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा प्रधानमन्त्री पृथ्वीनारायण शाह झैँ गर्जिनु भयो, जंगबहादुर राणा झैँ आदेशिनु भयो र डा. बाबुराम भट्टराई झैँ राँकिनु भयो । प्रधानमन्त्रीको लवज थियो, ‘ए, भइँचालो ल्याउने, कति रेक्टरको ? यो छाति थेग्न तयार छ ।’ त्यहाँदेखि यहाँसम्म आउँदा प्रधानमन्त्रीले कोही वर्गशत्रु र दुश्मन देख्नु भयो भने, उनको नाम माधवकुमार नेपाल थियो । माधव नेपाल कतिको रिसाएका छन् भनेर बेलाबेला शंकर पोखरेल, पिएस गुरुङ र सूचने सरहरु छड्केमा कोटेश्वर जान्थे । केही दिनअघि केपी ओली भन्थे, ‘प्रचण्डजी, तपाईं मसँग मिल्ने कि माधव नेपालसँग, निधो चाहियो ।’ अनि माधव कति रिसाएका छन् भनेर हेर्न जान्थे यी तीन नेताहरु ।

केपी ओलीसँग नेपाल टेलिभिजनका ५ वटा च्यानल सुरक्षित छन् । तिनका मठाधीशहरु स्वयम् केपी ओलीका रोजाइकै छन् । रासस, रेडियो नेपाल, गोरखापत्र पनि छन् । तर प्रधानमन्त्रीलाई बोल्न परे कहिले ऋषि धमला खोज्छन् कहिले भूषण दाहाल । जब कि सिंगो क्र्यु लिएर डा. महेन्द्र विष्ट आफैँ अन्तर्वार्ता लिन तयार छदैँछन् । प्रधानमन्त्रीले अपिल गरेर देशैभरको टिभी सम्बोधन देखाउन तयार छ । तर प्रधानमन्त्रीको ढिपी यस्तो बढ्दै गयो कि, ‘युज एण्ड थ्रो’मा उहाँलाई कसैले सकेनन् । उहाँका कारण निर्लज्ज पराजय भोगेका वामदेव गौतम वरिपरी पार्टी बिथोलिने काम भयो । प्रधानमन्त्री ओली एमालेबाट जितेका हुन्, झापामा जितेका हुन् । उनका सचिवालय र सचिवालयको जुठोपूरोमा रमाएकाहरुले भनिरहे, ‘महाधिवेशनबाट आएका र जनताले जिताएका प्रधानमन्त्री हटाउन पाइन्न ।’ दुईतिहाइ उनैसँगै, ६ पुसमा अग्रज पत्रकार दाजु प्रमोद दाहालले फेसबुकमा लेखेको सही हो भने, ओलीको हस्ताक्षरविना नेकपाको कुनै पनि लिखत खोस्टा हुनेछ । यति बलशाली, प्रभावशालीलाई हटाउन पाइन्न भनेर माइतीघरमा जुलुश निस्कियो कोरोना कहरमा । अस्तिसम्म जोरबिजोर लगाइरहेको थियो प्रशासन ।

ओलीलाई सूचना दिनेहरु गलत परे । यो कुरा हामीले भन्दा डा. कुन्दन अर्याल र महेश बस्नेतहरुले बेलाबेला भन्दै आइरहेका थिए । कम्युनिष्ट पार्टीमा बैठक नै नबस्ने, बहुमतको निर्णय नमान्ने ढिपीले नेताहरुलाई चित्रबहादुर केसी होइन, सिपी मैनाली बनाउँछ भन्ने नजिरसमेत सम्झना भएन यो बीचमा । बीचमा वामदेव गौतमले खुट्टा नलर्बराएको भए यो पार्टी, ओली, पुष्पकमल दाहालको साइज उहिले प्रमाणीकरण भइसक्थ्यो । उनी आधा यता, आधा उता र पर्दाखेरि कता न कता भइदिनाले संगठन विभाग प्रमुख खाए, विधानमै नभएको उपाध्यक्ष पाए । हुँदाहुँदा उनकै लागि प्रधानमन्त्री बनाउन संविधान फेर्ने राष्ट्रघातमा समेत गलत भन्न सकेनन् माधव नेपाल र प्रचण्डले । त्यसको कारण थियो, अस्ति भेला भएका १५ भाइ केन्द्रीय सदस्य सांसदको गणित । जम्मा १५ भाइ बोकेर उनले नेकपालाई टुँडिखेल बनाए । नेपाली जनता हेरिरहे नेकपाको राइफाँडो र रैमट्ट राजनीति ।

अब के हुन्छ ? धेरै सोध्छन् । जवाफ उनीहरुसँग पहिले नै छ फेरि । चुनाव हुन्छ, सूर्य चिन्ह केपी ओलीसँगै हुन्छ । प्रचण्ड र माधव नेपालले अपिल गरे, सिस्टम जोगाउँ, हामीलाई परेन भन्दै त्वम् शरणम् गरे प्रधानमन्त्रीले राष्ट्रपतिलाई समावेदन गर्नसक्छन् । संसद विघटन हुन रोकिन सक्छ, राष्ट्रपतिले मान्नु भए । अब त झन बलशाली कोही हो भने ओली मात्रै हुन् । यति मात्रै होइन, प्रदेशमा सरकार हेरफेरको कुरा गरे राष्ट्रपति शासन लागु हुन्छ, संकटकाल लागु हुन्छ । यो सरकारी अनुमान भयो । तर सडकमा निर्मला पन्तका पक्षधरहरु, गुठी विधेयकका आन्दोलनकारीहरु, राजावादीहरु, कमल थापा, पशुपति र प्रकाशचन्द्र लोहनीको राप्रपा, हिन्दूवादीहरु, क्रिश्चियन प्रायोजकहरु, जातिवादीहरु, बलात्कारीलाई फाँसी दिउँ भन्नेहरु, अनि जुर्मुराएको कांग्रेस र आफ्नै पूर्व आफ्नै पार्टी पनि सडकमा आउला भनेर संकटकाल लगाइयो भने हुन्छ के देशमा ? यस्तै अफ्ठेरो आउँदैछ भन्ने थाहा पाएर नै प्रधानमन्त्रीले ईश्वर पोखरेललाई बालुवाटारको उपप्रधानमन्त्री बनाएर सेना आफूसँग राख्नु भयो । घटनाक्रम यसरी विकसित भयो कि, होला, केपी ओली अप्ठेरोमा पर्नु भयो । तर सारा शक्ति आफ्नो शिरमा हुँदा पनि यो व्यवस्थामाथि तुषारापात गराउँदै पो हुनुहुन्छ । आमनिर्वाचनमा जाने मात्रै विकल्प देख्ने हो भने कतै संघीयता फेल पो हुन्छ कि, नेपाली जनताले अझैँ दुःख पाउने पो हुन् कि ? भारतीय दौडधूपले कतै देश अब सिक्किम २ पो हुन्छ कि, अनेक आशंका मेट्नु पर्नेमा बिजारोपण भयो प्रधानमन्त्रीज्यू । तपाईंले चुच्चे नक्सा जारी गर्दा १४ ठाउँमा भारतले नेपाली भूमि मिचिसकेको छ । तपाईं प्रधानमन्त्री भए पछि नै भारतले नक्सा जारी गर्ने हिम्मत ग¥यो । कतै हामीले गुथाएको राष्ट्रवादी पगरीले हाम्रै थाप्लोमा पत्थर पो प्रहार त हुँदैछैन ? जनआस्था साप्ताहिकमा २०७७ पुस ९ गते प्रकाशित