फ्रडमान्डु

२७ पुष २०७७, सोमबार १२:०६
– रामकुमार एलन

कथाः 

कथानक १
आज त नयाँ मोबाइल लिनैपर्छ । फेसबुक नचलाएको दुई दिन भइसक्यो । यस्तो लाग्छ कि बरु अफिस एकमहिना नगए केही हुन्न । तर फेसबुक एकघण्टा चलाइएन भने साथीहरु चन्द्रमा पुगिसकेको र आफू पछि परेको महसुस हुन्छ । भाइबरमा कति सन्देश आए होलान् ? इमोमा कुरा नहुँदा आफन्तसँग सम्पर्क नै टुटेको छ । निलो माइक्रोमा रत्नपार्कबाट कलंकी नपुग्दै भिडमा कुन नकच्चराले मोबाइल टप्काइदियो । यसैले पछिल्लो २४ घण्टा सञ्चारसम्पर्कमा छुइनँ । ठीकै छ, सेट थोत्रो नै भइसकेको थियो । नयाँ सेट किन्ने योजना बनाएँ । सेट किनेर सिम लिन जब नेपाल टेलिकमको सुन्धारा शाखामा हुत्तिँदै छिरेँ । सिम लिन लाइन बसेँ ।

यो देश लाइन बस्नेहरुको शहर हो । यहाँ मर्न त लाइन बस्नु पर्छ । र, मरेपछि त लाइन बस्नु पर्छ । जिउँदोमा त लाइन नबसी केही पाइन्न । अरु त अरु मोटरसाइकलको लाइसेन्स प्वाल पार्न, आन्दोलनका बेला ट्याक्सीमा आगो लगाइमाग्न मात्र होइन, आफ्नो घरमा चोर पसोस् भनेर ढोका खुलै राख्दा पनि अगाडि नै अरु लाइन बसिसकेका हुन्छन् र त्यसपछि बल्ल पालो आउँछ । यस्तो लाइन लाग्ने र लगाउनेहरुको गर्व गर्न लायक देश हो मेरो । कतै यात्रा गर्नु परे गाडी गएर जोतिन्छ भिरतिर र चिच्याइचिच्याइ मर्नुपर्छ । देखेको छु कयौँ दुर्घटना, जहाँ घटनास्थलमा मर्ने भन्दा घाइते भएर मर्नेको लाइन ठूलो हुन्छ । जब दुर्घटनामा मारिन्छन् यात्रुहरु । उनीहरु मरेपछि पनि उद्धारकर्ता र पुलिसले लाइन लगाएर राख्छ । हो, यो देश लाइनको शहर भन्दा कसैले मन नदुखाए हुन्छ, निधार नखुम्च्याए हुन्छ । भूपि शेरचनले हल्लैहल्लाको देश भने पनि पछिल्लो समय लाइनको देश भएकामा हामी अभ्यस्त छौँ । लाइन संस्थागत गर्ने हाम्रो रोडम्याप नै छ । पार्टीमा नीति होइन नेता पक्षधरको लाई । सेवाग्राहीलाई सास्ती दिने लाइन । अनि देश लुट्नेहरुको तछाडमछाडको लाइन हेरौँ । अनशन बस्न टुँडिखेल खाली नभएर मिति कुरिरहेकाहरुको लाइन हेरौँ । जुलुश निकाल्न माइतीघर मण्डला खाली नभएर बानेश्वरमा पर्खिरहकोहरुको लाइन हेरौँ । खानेपानी, बिजुली, टेलिफोनका लाइन त जनजनको दैनिकी भयो । लाइन बसेन भने नेपालीलाई के पुगेन–के भएन जस्तो लाग्छ । यदि यस्तो तलतल लागेन भने सम्झनुहोस्, उसको स्वास्थ्य परीक्षण गराउन ढिला भइसक्यो, उ निको छैन ।

जब सिम लिन लाइन लागेँ । सबै मुखामुख गर्न थाले । हेरेँ, पोशाक ठिक थियो । सर्टका टाँकहरु चुँडिएका थिएनन् । पाइन्टका टाँक र फस्नरहरुले महत्त्वपूर्ण सामान ढाकिरहेकै थियो ओथारो बसेको पोथीले चल्ला कोरल्न छोपेको अण्डाझैँ । तर, कोही ठूला आँखा पार्न थाले । मनमा चिसो पस्यो, के–के न बिराएजस्तो भयो । ढाडतिर मुन्टो जोतेँ । बाटो हिँड्दा कुनै चराले विष्ट्याएको पनि भेटिनँ । कपडामा टाटापाटा थिएन । सिम दिने ठाउँमा पुगेँ । एकाएक कर्मचारी करायो, ‘तपाईं हो रामकुमार भन्ने ?’ कत्ति न उसको छोरीलाई बार्दलीबाट आँखा झिम्क्याएको जस्तो अनि उसकी बूढीलाई भाइबर च्याटमा ‘वाउ काली, क्या सेक्सी’ भनेजस्तो रिस पो फर्छ । किन झोक्किन्छ, सबैभन्दा नाफामा गएको एकमात्र सरकारी कार्यालयको कर्मचारी ? यस्तै तर्कना आए मनमा । उसले भन्यो, ‘तपाईंको नाममा लिइएको सिम अपहरणमा धम्क्याउन प्रयोग भएको प्रहरीको रिपोर्ट छ । पहिला सिआइबी जानुस्, नत्र पक्राउ परेर खबरमा आउनु पर्ला, सरेन्डर गर्नुहोस् ।’

एकसय रुपैयाँको सिम लिन टेलिकम गएको । उल्टै विवाह गरेको एक महिना नपुग्दै घुम्ने बहानामा लोग्नेले मुग्लिन पुलबाट जिउँदै झारेको निरीह पत्नी झैँ भएँ । घरमा छोरीलाई ठूलो स्वरले गाली गरेको अभिलेख छैन । अभिलेख छैन होइन, त्यसरी गाली गर्ने हुति छैन, ह्याकुल्ला छैन । स्वास्नी रिसाएका दिन ठाडो शिर गरेर उसको मुखतिर हेर्दिनँ । बरु शनिबार भए पनि अफिसका साथीहरुसित घुम्न गएँ भनेर टारिदिन्छु । यस्तो फुकिढल्नुले अपहरण उद्योग चलाउने ? खल्खली पसिना छुट्यो । पुसकै जाडोमा पसिनाले निथ्रुक्क भिजेँ नै, सिम लिन फोटोकपी गरेको नागरिकताको प्रतिलिपि पनि चिसो भएछ, फेरि अर्को फोटोकपी गर्नु पर्ने भयो । त्यो भिजेर सेतो सर्टको खल्ती नै टाटेपाटे भयो ।

टेम्पो चढेर हतारमा सिआइबी पुगेँ । अफिसमा खोजी हुन थाल्यो होला, उसै पनि अचेलका लेखक पत्रकार ‘बिट’ र ‘इस्यु’मा होइन, ‘घन्टा’ मा काम गर्न थालेका छन् । हो, आठ घण्ठा श्रमशिविरमा छ कि छैन भनेर मालिकले प्रमुख सम्पादकहरु नियुक्त गरेका हुन्छन् । तिनको काम पनि गुणस्तरीय खबर उत्पादन होइन, यस्तै ‘घण्टा’का लेखापाल बनेका छन् । मालिकको ‘इन्ट्रेस्ट’ नै ‘करेन्ट इस्यु’ ठान्ने र घण्टामा काम गर्ने भएका छन् पत्रकार । सिआइबीमा इन्स्पेक्टर हरि ज्ञवालीले मीठो कफीले स्वागत गरे । सिपाहीलाई बाहिर पठाएर इज्जत जोगाइदिन कानमा खुसुरफुसुर गरेँ । म त यसै दिक्क थिएँ, छक्क थिएँ अपहरणकारीको जामा लगाइदिएकामा । उ पनि खित्का छाडेर हाँस्यो र देखायो तस्बिर, हामीले खोजिरहेको अपहरणकारीको हुलिया यो हो, तर नम्बर चैँ तेरो कागजातसँग कसरी मिल्यो ? उसले हाकिमलाई जाहेर ग¥यो, भेटायो र भन्यो अनुसन्धानमा सहयोग गर्नुहोस् रामकुमारजी, अपहरणको अडियो र हुलिया नमिलेकाले तपाईं अपराधी त नहुनुहोला, तर मोबाइल नम्बर तपाईंको नाममा के गरी लियो उसले ? सहयोग चाहियो ।
०००
कथानक २
लेखापालले बोलाएर भने, ‘कति दिन निलो माइक्रोमा मंसिर मासमा आमाले कसौँडीमा खाँदेको तोरीको सागजस्तै कोचिएर कालोनीलो हुँदै आउनुहुन्छ पत्रकारज्यू, अफिस ? अफिसले तलबबाट कट्टा हुने गरी मोटरसाइकल दिने स्किम छ, चढ्नुहोस् बाइक ।’ थप्योः ‘यसो कहिलेकहीँ जुनियर र इन्टर्न रिपोर्टर मैयाँहरुलाई लिफ्ट दिन पनि पाइन्छ ।’ लेग्रो तानिरहे, ‘लिने भए म हाकिमसँग कुरा मिलाइदिन्छु, हुन त तपाईंहरुको बोलचाल राम्रो छैन क्यारे अचेल ।’ मौका पार्दै पेच हानिहाल्यो, ‘उसै पनि तपाईं त्यो माइक्रोकै कारण अफिसमा भनेजति घण्टा काम गरिरहनु भएको छैन । दिनमै एकदेखि डेढघण्टा ड्युटी कम भइरहेको छ । मलाइ थाहा छ, तीनकुने, बानेश्वर, माइतीघर, थापाथली र त्रिपुरेश्वरको जामका कारण अफिस आउन ढिलो भएको, तर के गर्ने ? अफिसले घण्टा गनेर पैसा दिनु भनेको छ । तपाईंको मात्र नकाट्ने कुरा आएन ।

महिनामा दुईदेखि तीन दिनको पैसा कटिरहेको छ, लिुनस् क्या एउटा बाइक ।’ लाग्छ, मोटरसाइकल अफिसले होइन, त्यही धम्मरधूस कालेले छोरी अन्माएर ज्वाइँलाई निशुल्क दिए झैँ गरिरहेछ । उल्टै, अस्ति भर्खर काममा आएकी इन्टर्नकीलाई काज मिलाएर हाकिमसँग धुलिखेल तालिममा पठाएन भनेर बेफ्वाँकमा रिसाएको त्यो बदमास हाकिमसँग मेरो कुरा मिलाइदिने अरे ।

दिनभरको काम र तनावले बेलुका ज्यान गलेर अमिलो दहीजस्तै भएको थियो । हेर्दा सर्लक्क भए पनि बेस्वादको । अफिसले दिने सुविधाबारे बूढीलाई सुनाएँ । उसले थप पटकथाहरु भरी, ‘शुक्रबार ककनी गएर ट्राउट माछा खाएर आउन भ्याइन्छ, शनिबार दक्षिणकाली जान पनि हुन्छ, अफिसबाट पनि खाजा खान्छु भनेर न्युरोडतिर मःमः पसलमा आउन पाइन्छ । किन बूढा किन, मोटरसाइकलमा पछाडि बसेर कालो चश्मा लगाउँदै तिमीसँग टाँसिएर हिँड्ने रहर पूरा भएकै छैन । अब पूरा गरिदिने भयौ मनका रहर ।’

कहिलेकहीँ लाग्छ, यो लोग्ने मान्छे भनेको कागती हो कि आलु ? धेरैले चैँ आफूलाई कागतीको भ्रममा आलु बनाइरहेका छन् । कागती बिहान कालोचिया, दाल हुँदै राति दारु पिउनेलाई चाहिने । अनि आलु पनि बिहानको खाजादेखि राति त्यही दारु पिउँदा पनि कहिले पोलेर त कहिले जिरामा साँधेर खाइदिने । हो, जतिखेर, जसलाई पनि चाहिने आलु र कागतीजस्तै छ लोग्ने मान्छेको जीवन । त्यसैले त जागिर पनि घण्टामा खान थालेको । केही घण्टा अफिसलाई । केही घण्टा अरुलाई । अफिसले किस्ता तिरिदिने अनि श्रीमतीको ककनी जाने रहरको पुलिन्दा पनि खोलिने । मोटरसाइकल त किन्नै प¥यो । मोटरसाइकल लिन लाइसेन्स चाहियो ।

जब यातायात व्यवस्था कार्यालय धाएँ । नागरिकता देखाउनेबित्तिकै कर्मचारी फेरि टेलिकमकै कर्मचारीको अवतारमा उत्रियो । भन्योः ‘ज्यानमारालाई नक्कली र सक्कली दुई–दुईटा लाइसेन्स चाहिने ? कुन मुखले लाइसेन्सका लागि निवेदन दिन आएको ? लाज छैन तपाईंलाई ?’ धेरै वर्षअघि डाँडाघरे भण्डारी भिनाजुले ब्याडे बोका चोरेर बजारमा बेचेको चाल पाएपछि रिसले चुर हुँदै तर्सिकोटका च्याङबालाई चारकोश लखेटेको पारामा यातायात कार्यालयका कर्मचारीले हपारे, त्यो पनि ‘ज्यानमारा’ भन्दै । ‘इमानजमानमा काम गर्ने स्वाभिमानी लेखक र पत्रकार हुँ, रेबिजका १४ वटा सुईले पनि काम नगरेपछि छचन्नाएको बहुला होइन, भाषा सुधार्नुहोस्,’ रिस थाम्नै सकिनँ । यातायात कार्यालयमै रणसंग्राम होलाजस्तो भयो । भित्तामा टाँसिएको पोष्टर देखाउँदै भन्यो, ‘उ त्यहाँ हेर्नुहोस्, तपाईंको नक्कली लाइसेन्स भेटियो कृष्णभीरमा । अघिल्लो महिना पल्टिएको बसको चालक अहिलेसम्म बेपत्ता छ, म¥यो कि तपाईं नै हो, अब पत्ता लगाइन्छ, तर लाइसेन्समा नाम तपाईंकै छ ।’ उसले यति भनेपछि च्याइँफत्र्याङ भएँ । यो के हुँदैछ ? यो मुलुकको दुई नम्बरी, फटाहा, अपहरणकारी, हत्यारा सबैसँगै मेरै नाम मिल्छ ? मेरो जन्म नै जुम्ल्याहा थियो कि क्या हो, आमाबाबुले भनेनन् त ?

उसँगको गलफत्ती दशैँमा मच्चिएको लिंगेपिङ झैँ अरु मच्चिँदै थियो । पिङ मच्चिएपछि अरुले सुसेली हालेझैँ यातायात कार्यालयमा पनि तमासेको भिड लाग्यो । कार्यालयमा तैनाथ पुलिस आइपुगे । कर्मचारीले मतिर संकेत गरे । पुलिसले भने, ‘तँ होस् त्यो नक्कली लाइसेन्स लिने ज्यानमारा ड्राइभर ?’ मुस्कानसहितको सेवा गर्ने नेपाल प्रहरीले धन्न आमाचकारी गाली गरेन, सभ्य भाषामै भन्यो । सायद सुध्रिएको हुनुपर्छ हाम्रो प्रहरी । अस्ति भर्खर हाम्रो घर अगाडि प्रहरी कार्यालयनिर टाँसिएको थियोः प्रहरी मेरो साथी । हो, बर्सेनी प्रहरी हामीसँग घुलमिल हुँदैछ । अलिक वर्षमा उसले साथी मात्र भन्दैन । म जनताको साझेदार भन्ने नारा ल्याउँछ होला । त्यसपछि हामी नेपालीलाई समस्या पर्ने छैन । किनभने अपहरण, ज्यानमुद्दा, बलात्कार सबै मुद्दामा अपराधीले जेल नगए पनि हुन्छ, अहिले कागज पु¥याइरहनु परेको छ । त्यतिखेर त प्रहरी नै जनताको साझेदार भएपछि हरेक घटनामा ५० प्रतिशत उसकै हिस्सा हुने भएपछि अपराधीले ५० प्रतिशत बेहोरे पुग्छ होला सायद गणतन्त्रको यो ताउरमाउरमा ।

बर्दीमा भएको पुलिसले झपारेपछि नून खाएको कुखुरा हुनैप¥यो । उसले भलिभाँतीसँग नक्कली लाइसेन्सको कथा पढायो । म समातिएकोमा खुशी जनायो । लाग्छ वैशाखमा उसको बढुवा हुनेछ अब । नक्कली लाइसेन्स लिएको ज्यानमारा ड्राइभर करार भइरहेको थिएँ । यतिकैमा उसको मोबाइलमा घण्टी बज्यो । खोइ, के आदेश आयो उताबाट । ३२ पटक ‘हस्’ भन्यो । अनि मतिर फर्केर मुसुक्क हाँस्दै भन्यो, ‘त्यो ज्यानमारा ड्राइभर त कोटेश्वरबाट समातिएछ भर्खरै, तपाईंलाई असभ्य बोलेकामा सरी लेखकज्यू ।’ उसले भाइबरमा आएको फोटो पनि देखायो । मेरै नाममा लाइसेन्स लिएको त्यसको र मेरो हुलिया पनि फरक थियो । उ हात्तीको ढोइजस्तो थियो, म लुरीको पोइजस्तो थिएँ ।

मोटरसाइकलको लाइसेन्स लिनु नै थियो । फेरि यातायात कर्मचारीको कोठामा गएँ । पुलिसले पनि सब कुरा बताएपछि कर्मचारी मन्दिर अगाडि उभिएका भक्तको अवतारमा आयो, ‘ज्यानमारा भनेँ, खुर्सानी भन्न भ्याइनँ, अघि मैले पिउनलाई दुई केजी ज्यानमारा खुर्सानी ले भन्न खोजेको, ‘टङस्लिप’ भएर तपाईंलाई गाली हुन गयो, माफ पाउँ लेखकज्यू, फेरि शनिबारको निबन्धमा नआओस् नि यो कुरा ?’ उसले फेरि कुनामै पुग्ने गरी पेनाल्टी हान्यो, ‘होइन, तपाईं लेखक पत्रकार र यो ज्यानमाराहरुको कनेक्सन हुन्छ कसरी ? कसरी तपाईंको नाममा नक्कली लाइसेन्स लियो ड्राइभरले ?’ रिसले चुर थिएँ, भनिदिएँ, ‘हजुर अहिलेसम्म लाइसेन्स यातायात व्यवस्था कार्यालयबाटै दिने व्यवस्था छ, लेखक, पत्रकारले दिने व्यवस्था आएपछि तपाईंहरुलाई पत्रकार सम्मेलनमै बोलाएर जानकारी दिउँला ।’ केटो बोल्नै सकेन । गिलासको आधा चिया स्वाट्टै पारेर नाकको डाँडीमा चश्मा झारेर कागजात पढ्न थाल्यो ।
०००
कथानक ३
बिहानै फोन आयो । साथीहरु कोही हाँस्छन्, कोही यो के गरेको भन्छन् । कुरै बुझ्न सकिरहेको छैन । सिआइबीको हवादा दिँदै एउटा साप्ताहिकले लेखेछ खबरः गैँडाको खाग तस्करी गिरोह समातियो । केही सदस्य फरार । समातिएको सूचीमा मेरो पनि नाम दिएछ । अनलाइनका साथीहरु अचेल उधूम खोजी पत्रकारिता गर्न थालेका छन् । अस्तिमात्र थापाथलीमा चियापसलमा भएको गफ सम्झिएँ । कुनै एउटा नाम चलेको अनलाइनका झन नाम चलेको सम्पादकलाई जिस्क्याएँ, ‘तपाईंको अनलाइनमा अचेल ‘दमदार कुमारी कथा’ आउन छाडे नि ?’ अंग्रेजीमा ‘भर्जिन स्टोरी’ भन्छन् क्यार । उनले जवाफ दिए, ‘गाह्रो छ नि दाइ ‘खोजी पत्रकारिता’ गर्न । भएभरका पत्रिका किनेर ल्यायो, दशतिरका अनलाइनहरु हे¥यो । कतै दमदार स्टोरी छैन यो महिना । हामीले पनि त्यही दमदार स्टोरी खोज्ने हो । अब लेख्नेले नलेखेपछि हामीले कसरी ‘पेस्टोलोजी’ गर्ने ? त्यसैले अनलाइन ¥याङकिङमै समस्या आयो ।’ उसले थप्यो, ‘यो अरुको खबर खोज्ने ‘खोजी पत्रकारिता’का भरमा अनलाइन चल्लाजस्तो छैन दाइ ।’ मूच्र्छा परेर हाँसे । ‘खोजी पत्रकारिता’को नयाँ परिभाषा दियो साथीले ।

हो, त्यही साप्ताहिकको हवाला दिँदै ‘खोजी पत्रकारिता’ गर्ने अनलाइनहरुले फेसबुकबाट फोटो तानेर गैँडको सिङ चोरेर भागेको स्केचसहित दिएछन् खबर । साथीहरु त फोन गरेर जिभ्रो टोक्दै भन्छन्, ‘आ‘‘‘‘ल, तँ त गैँडाको खाग तस्करी पो होस् ?’ खबरका लिंकहरु आए । पढेँ । भनिएको थियो, ‘गैँडाको खाग तस्करीबाट बच्न भागेर मलेसिया पुगेका रामकुमारलाई प्रहरीले इन्टरपोलको सहयोगमा पेनाङबाटै पक्रेर ल्याएको छ ।’ न म पेनाङ गएको छु । ४० वर्ष पुग्न लाग्यो, आफ्नै देशको मनाङ त गएको छैन । न म समातिएर ल्याइएको छु, समातेर ल्याउन मेरो पासपोर्ट त हुनुप¥यो । जसको पासपोर्ट छैन, उसको भिसा लाग्दैन । साप्ताहिककै सम्पादकको फोन आयो, ‘दाजु, कहाँ हुनुहुन्छ, म खुट्टै ढोग्छु दाजु, भरेभोलि प्रेस काउन्सिलले मूल्यांकन गर्दैछ, हिजो नेताको छोरीको बिहेको सामान किनमेलको कामले अफिस गइनँ, हजुरमाथि अन्याय गरेँ, नभएको खबर आयो, सूचना गलत प¥यो, नाम मिल्दा केटाहरुले हजुर भन्ठाने, दाजु, मैले फेसबुकमा माफी मागिसकेँ ।’ भनेँ, ‘अनि तिम्रै हवाला दिँदै अनलाइनहरुले त मैले गैँडाको सिङ चोरेर भागेको फोटो र स्केच आयो यार ।’ उसले भन्यो, ‘दाजु, अब म जिम्मेवार हुन्छु, अहिले म नेताकहाँ गएँ र सबैतिर भन्न लगाएँ, अनलाइनहरुको कुरा छाडिदिनुस्, जे पनि लेख्छन् । अस्ति तपाईंकै पार्टीका नेताहरुले ५२ करोड दिन्छु भनेर उपेन्द्र यादवलाई फोन गरेको नक्कली अडियो त हाल्यो ।’ उसले लेखेको चैँ सत्य खबरजसरी खसाल्यो अनलाइनलाई ।

एकैछिनमा सिआइबीबाट फोन आयो । इन्स्पेक्टर हरि ज्ञवालीले जिस्क्याए, ‘यो जूनीमा तैँले निकै अपराध गरेको छस्, पक्रेर डिआइजीलाई बुझाउने आदेश आयो, ११ बजे अफिस आइजो ।’ डिआइजी साबले कालो कफीको चुस्की लिँदै भने, ‘होइन, भएभरका अपराधीसँग तपाईंको नाम के गरी मिल्यो ?’ उनले सुनाए, म त तपाईंको बदमासी छैन भन्ने बुझ्छु, ढुक्क छु । हाम्रो पनि बढुवाको बेला छ । कसले बढी अपराधी समात्ने होडबाजी नजानिँदो ढंगले बढेको छ । मेरै ब्याची अर्को डिआइजीका सिपाहीहरुले समात्ला है । नाम मिलेका भरमा एकरात थुनिदियो भने त अनाकहमा अपराधीको माला लगाइएला ? तपाईंकै पत्रकार साथीहरुले अपराधी बनाएर समाचार जताततै पार्सल गर्लान् । अचेल भाइरल बनाउने भन्छन् क्यारे । त्यसमाथि समाचार नपाएर एउटा पत्रकारले अर्को पत्रकारलाई ‘छ्याँस्ने’ उद्योग भाइरल छ अचेल । उनले साथी मानेर भनेका थिए । हो, शहरमा अहिले केही डिआइजीहरुको अपराधी समात्ने स्पर्धा छ । केही महिनापछि भएभरका आइजी र एआइजी घर जान्छन् रे । अनि यिनै डिआइजीबाट सिधै आइजी हुने र बाँकी एआइजी भएर घर जाने भएकाले अपराधी पुष्टि त अदालतबाट होला, समात्ने होड चैँ दैनिक खबर बुलेटिन हेर्दा कुन डिआइजीले कति समात्ने भन्नेमै कसरत देखिन्छ । प्रहरी चिनजानको नभएको भए म गैँडा तस्करसँग नाम मिलेको र अनलाइनहरुले लेखेका भरमा अपराधी भइसक्थेँ । पछि केही अनलाइनहरुले साप्ताहिकका सम्पादकले फेसबुकमा माफी मागेको लिंकसहित ममाथि पर्न गएको अप्ठेरोमा क्षमा मागेछन् । धेरैले ‘खोजी पत्रकारिता’ गरेका थिए पछि ‘डिलिट पत्रकारिता’ गरेछन् । जीवनमा नाम मिल्दाको सास्तीले सास छउन्जेल नछाड्ला जस्तो छ ।
००००
कथानक ४
घरमा रुवाबासी थियो । बूढी बेहोस नै थिई । बुबाका आँखाभरि पानी टिलपिल टिलपिल थिए । आमा र छोरी आँगनमा मूढो लडे झैँ लडिरहेका । भाइहरु पनि आँसु थाम्न सकिरहेका थिएनन् । छोरा झोक्राइरहेको थियो । साना भतिजाभतिजी, भान्जी घरमा किन सबै रोइरहेका छन् भन्ने बुझिरहेका थिएनन् । घरमा छिमेकीहरुको आउजाउ निकै बढिरहेको थियो । सबै आमाबुबालाई सम्झाइरहेका थिए ।

कोही प्रशंसा गर्दैथिए । अस्तिमात्र हाँस्दै ‘सन्चै हुनुहुन्छ’ भनेर बिदा मागेको केटो । कोही भन्दैथिए, असाध्य राम्रो लेख्थ्यो । जे विषयमा लेखे पनि भाका र भाषा मिलाउन सिपालु । अर्काले थप्यो, ‘नयाँ किताब लेख्छु भन्दै थियो ।’ पत्रिकामा त लेख्थ्यो, टिभी र रेडियोमा पनि उ फिट थियो । अनलाइनमा पनि जमेको थियो कुनै बेला । गाउँमा कसैको सोचेजस्तो राम्रो गर्न नसकिए पनि नराम्रो गरिएको रहेनछ, एउटा पत्रकारको दायित्व यति न हो भन्ने लाग्दै थियो ।

घरमा आफन्तजन थपिँदै थिए । रुवाबासी अरु बढेको थियो । यतिखेर त फेसबुकमा पनि समवेदनाहरु छ्याप्छ्याप्ती आइसकेका थिए । मेरै फेसबुक वालमा समेत हार्दिक श्रद्धाञ्जली लेख्नेहरु ५० नाघिसकेका रहेछन् । मरिसकेपछि कसले के लेख्यो भनेर थाहा हुने कुरै भएन, तै पनि लेख्छन् मनुवाहरु, ‘तिम्रो आत्माले शान्ति पाओस् ।’ सारा समाज चिनेको, आफन्त, छिमेकी, नातागोता भएको यही धर्तीमा त आत्माले शान्ति पाउन सकेन । २४ घण्टा तनाव, अभाव, दबाबमा बाँच्नु पर्छ मान्छेले । समस्या देखाउँदा खुच्चिङ भन्छन्, प्रगति ग¥यो खुट्टा तान्छन् । डाक्टरले पनि रोग फेला नपार्ने तर समस्या बल्झेर मान्छे अल्पायुमा मरिरहेका हुन्छन् । अब त्यो स्वर्गमा के शान्ति होला र ? जहाँ राजा ईन्द्र त एउटा एसी कुलर राख्न नसकेर दुईतिर किन्नरी राखेर पंखा हम्किरहेका छन् । यहीँ त ४२ डिग्री पुग्न लाग्यो, त्यहाँ त जहिले स्वर्गको राजा इन्द्र दुईटी नानी पंखा हम्काइरहेका हुन्छन् । यहाँ त होटलमा सँगै परे चियाको पैसा तिर्न पर्छ भनेर चिनेजानेकाहरु नबोली लुसुक्क निस्कन्छन् र बाहिर पुगेपछि पो, मैले त यादै नगरेको भन्छन् भने स्वर्गमा झन कस्ले वास्ता गर्ला र ? कसरी पाउला आत्माले शान्ति ?

हो, परराष्ट्र मन्त्रालयमा खबर आइपुगेछ, कतारमा मेरो मृत्यु भयो गएको तीन महिनामै भएको रे । त्यहाँको दूतावासले ऋणपान गरेर शव नेपाल पठाउने तयारी गरेको खबर अखबारभरि छापिएका छन् । खबर लेख्ने कति त साथीहरु नै छन् । घरमा रुवाबासीको कोकोहोलो मच्चिँदा कोही सम्झाउन लागेका छन् । कोही मन बुझाउन लागेका छन् । भएभरका आफन्तको भिड, शोक, रुवाबासीले घर मूर्दाघर भइसकेको छ । मन थामिन सकेको छैन धेरैको । आँशु थामिने कुरै भएन, साउने झरी झैँ बररर बर्सिएका छन् ।

बुबा, भाइहरु, केही साथीहरु शव लिन काठमाडौँ आए । उताबाट पनि शव आयो । शव बुझेर लिन जब मूर्दाघरमा बुबाले अनुहार हेर्नुभयो । बुबाको अनुहार एकाएक फेरियो । आफूलाई दागबत्ती दिने छोराको शव त्यो पनि कयौँ दिनदेखि सडेको कसरी हेर्ने भन्ने चिन्तामा चाउरिएका निधारमा निरासाको धर्सा कसरी हट्यो ? त्यहाँका कर्मचारीलाई भन्नुभयो, ‘यो मेरो छोरा होइन । क्षेत्रीको छोराको लाश यस्तो हुन्छ ? यो त कुनै राईलिम्बू परिवारको जस्तो छ ।’ कर्मचारीहरु बाठा भए, ‘आइसले फुलेर यस्तो भएको होला, आफ्नो छोरा नचिन्ने तपाईं ? यी हेर्नुहोस् पासपोर्ट ।’ कान्छो भाइले पासपोर्ट हे¥यो । सबै परिचय र हुलिया मेरै छ तर तस्बिर अर्कैको टाँसेको । लाग्छ, त्यो तस्बिरमा भएको मनुवा मकवानपुरकै होइन । भाइले पनि भन्यो, ‘यो म्यानपावर कम्पनीको बदमासी हो, मेरो दाइको पासपोर्टमा अर्कैलाई विदेश पठाइएछ ।, शव दाइको होइन ।’ भाइले यति भनेपछि कर्मचारी पनि कालानीला भए ।

बुबाले रुँदै घरमा फोन गर्नु भयो, ‘बुहारी, नरोऊ, त्यो मरेको ‘कुमारे’ होइन, अर्कैको शव परेछ, म्यानपावर कम्पनीले कुमारेको पासपोर्टमा अर्कैको फोटो टाँसेर मान्छे तस्करी गरेछ । हामी घर फर्कियौँ, सबैलाई खबर गर, घर सफा गर, बाहुन बोलाउ, सत्तेनारायण पूजा लगाउनु प¥यो ।’
०००
आज एकाएक घरको याद आयो, दुई महिनाजति भएको थियो घरमा कुरा नभएको । खासमा कतारबाट अरु नै देशमा गएको थिएँ कम्पनीबाट । त्यहाँ र नेपालको समय नमिल्दा कुरा नभएको हो । भाइबरमा भाइलाई फोन गरेँ । भाइले रुँदै सुनायो, यत्रो महिना कहाँ हराउनु भएको ? यहाँ कत्रो तनाव भयो । दूताबासले तपाईं मरेको भनेर खबर मात्र गरेन, शव नै पठायो काठमाडौँमा । हेरेको अर्कैको छ । तपाईं यसरी हराउनु अनि लाश आउनु । यहाँ त तपाईं मरेको आज नौ दिन भइसक्यो भनेर गनेको, भर्खर लाश हेरेर तपाईं होइन भन्ने निधो गरेर घर फर्कदैँ छौँ । भनेँ, ‘मलाई कम्पनीले अर्कै देश पठाएको थियो, समय नमिल्दा तिमीहरुलाई राति के फोन गर्नु भनेर, अब पाँचदिनपछि कतार फर्कन्छु ।’ बुबा पनि निकै रिसाउनु भयो आज र अन्त्यमा नेपाल फर्क भनेर रुनुभयो । मनै कस्तो कस्तो भयो । नौ दिन भइसकेछ मरेको । फेसबुक पनि हेरेको थिइनँ, नभन्दै श्रद्धाञ्जली थिए वालभरि । उफ्, पसिना खल्खली आयो ।

झल्याँस्स ब्युँझिएँ । कस्तो सपना । आफैँ मरेको । हो, यो कथानक मेरो नामसँग मात्र मिलेको हो । तर कथा आम नेपालीको हो । जो केही गरौँ भनेर काठमाडौँ खाल्डोमा ज्यान घिसारिरहेका छन् । इमानको पयोले स्वाभिमानको डोरी बाट्नेहरु त्यही डोरीमा झुन्ड्याइएका छन् शहरमा र बदमासहरुले हडपेका छन् सबै मुकाम । यो शहर झुट, बदमासी, ढाँट, छल गर्नेहरुको टुँडिखेल हो । यहाँ तिनीहरुकै भैरव नाच चल्छ । हामीजस्ता क्षमता, योग्यताका कुरा गर्नेहरु वैकल्पिक उम्मेदवार पनि हुन्नौँ । रातको १ बज्दै रहेछ । बूढी फ्वाँफ्वाँ गरिरहेकी छे, बाबुनानी सुतिसकेका । टेलिभिजन सेट अन गरेँ । खबरच्यानलहरुले खबर दिइरहेका थिए । कतारमा दुर्घटनामा युवकको मृत्यु, शव ल्याउन समस्या, परिवारद्वारा सहयोगको याचना । स्क्रोलमा यी लाइनहरु दौडिइरहेका थिए । आम नेपालीको यही दैनन्दिनी छ । त्यसमाथि भर्खरै आफैँ मरेको एउटा डरलाग्दो सपनाबाट ब्युँझेको ।

अचेल काठमाडौँलाई फ्रडमान्डु भन्न मन लाग्छ । सफेद सुटपाइन्टमा सजिएका र हातमा ब्रिफकेस बोकेका सज्जनहरुको अशली परिचय दिनु पर्दा तिनीहरु गुणस्तरीय ‘फ्रड’ नै हुन् । कोही बैंकमारा, कोही सहकारीमारा, कोही जनतामारा, केही नभए दलाली गरेर अरुकै पैसा र श्रीमतीमा आश्रित रहेर सप्तरंगी जीवन बाँचिरहेका यी फ्रडहरुले काठमाडौँ ‘फ्रडमान्डु’ बनाएका छन् र काठमाडौँ अब फ्रडहरुको राजधानी मात्र होइन, देश हुँदैछ । ‘कथानक १’ अर्थात्, आफ्नो नामको सिममा अपहरणकारीले कुरा गर्ने प्रकरण केही दिनअघि भैरहवाबाट आएर काठमाडौँमा कलेज पढिरहेका अस्लम खानले सुनाएका थिए । जो नाम मिलेका भरमा प्रहरीका नजरमा परेका मुस्लिम अनुहार थिए । यो समाज मुस्लिम समुदायलाई नै कालो नजरले हेर्छ । ‘प्रकरण २’ अर्थात् लाइसेन्सको प्रकरण मकवानपुरकै सीताराम बलको थियो । उनका नाममा अरुले नै सवारी चालक अनुमति पत्र बनाइसकेछ अनि राजमार्गमा भएको एउटा दुर्घटनामा तिनै नक्कली चालकको हात थियो ।

उनी अहिलेसम्म फरार छन्, तर दुर्घटनास्थलमा भेटिएको सवारी चालक अनुमति पत्र बलकै नाममा छ । उनले भोग्नु परेको सास्ती सबै यहाँ उल्लेख गर्न सकिएन । ‘प्रकरण ३’ अर्थात् गैँडाको खाग तस्करीको खबरमा जोडिएका पात्र चितवनका हल्दार चेपाङको हो, जो गैँडाको खाग तस्करीपछि बच्न गोरखाका अरु कसैको कागजातमा सवारी चालक अनुमति पत्र बनाएर मलेसिया भासिएका थिए । भासिएका होइनन्, गैँडाका खास खाग तस्करले सोझा चेपाङलाई प्रयोग गरेर स्वार्थ पूरा गरेपछि उनलाई अरुकै नाममा लाइसेन्स बनाएर विदेश पठाएका थिए । उनलाई भर्खरै प्रहरीले मलेसियाबाटै पक्राउ गरेर ल्याएको छ । अनि ‘प्रकरण ४’ अर्थात् म मरेको सपना दोलखाका ग्याल्बो तामाङको हो, उनले म्यानपावर कम्पनीमा पासपोर्ट बुझाए । त्यहाँ काम ढिलो हुने देखेर अर्को कम्पनीमा पनि पासपोर्ट बुझाए । हामीकहाँ पत्रिकामा हरेक दिन पासपोर्ट हराएको सूचना यस्तै कारणले आउँछ । ग्याल्बो दोस्रो कम्पनीबाट चाँडै कतार पुगे । पहिलो कम्पनीमा पनि भिसा आएछ, कम्पनीले बदमासी गरेर उनको पासपोर्टमा अर्कैलाई पठायो । उनी कतारमा मरे र शव आयो नेपाल । तर उनी दोलखाका ग्याल्बो थिएनन् उनी त सोलुखुम्बुका गिरी फुर्बा शेर्पा थिए । नेपालमा दुई परिवारले कति सास्ती भोग्यो, राजनीतिका पछि दौडनेको हाम्रो पत्रकारिताले यो मर्म खोज्न जरुरी ठानेन । फेरि पनि निष्कर्षमा पुगेँ, दुःख जति सबै गरिब, दुःखीलाई । मस्ती, सयल जति यिनै काठमाडौँका सुकिलामुकिला ‘फ्रड’हरुलाई । जसले काठमाडौँको नामै फेरेर अब फ्रडमान्डु बनाउँदैछन् । गाउँमा कोही झोलीतुम्बा, बिस्तरा कसेर काठमाडौँ आउँदैछ भने दिनुहोस् एउटा बुटि, एउटा मन्त्र, ‘काठमाडौँमा जो पायो, त्यही टिक्दैन, झुट बेच्नुपर्छ, इमानको नसा उतार्नुपर्छ, बदमासीको विश्वविद्यालय पार गर्नुपर्छ, ठगी र लुटको कौशल जान्नुपर्छ, सक्छस् त तँ कान्छा ? सक्दैनस् भने आँट नगर, गाउँ फर्कँदा झन बिल्ला हुन्छ, काठमाडौं नटिकेर फर्कियो भन्दै ।’