Menu

मनहरी ५ मा हरेक वर्ष कच्ची पुल, पुस्तौँदेखि पक्की पुलको प्रतीक्षा

Author
news-feed-2 |
November 08, 2026
Featured

मनहरी । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका ५ मा पर्ने बसन्तुर, डिल्लीपुर जाने बाटो राप्ती नदि पार गरेर जानुको अर्को कुनै बिकल्प छैन् । पुस्तौँ देखि एउटा पक्की पुल बन्न सकेको छैन । यस बर्षपनि कच्ची पुलमाथी सवार गर्नुपर्ने बाध्यतामा छन् मनहरी ५ का बासिन्दाहरु । यस वडामा सवारी साधन आवतजावत गर्नको लागी प्रत्यक वर्ष खोलाको बहाव घटेपछि काठ वा हेमपाइपको कच्ची पुल राख्ने गरिन्छ ।
दशैं अगाडि बन्नुपर्ने पुल यसपाली बाढीको कारण ढिला भयो, दशैं जस्तो महान पर्वमा सवारीहरु जैसिङ र रजैयामै थन्काएर पैदल गाउँ प्रवेश गर्नुपर्यो, चार्ड पर्वको लागि आवश्यक पर्ने सामग्रीहरु बोकेरै वडामा भित्राइयो । तिहार आउनै लाग्दा मनहरी ५ का वडा अध्यक्ष दीपेन्द्र अधिकारीको पहलमा २०८३/८४ को सिलिङ बजेटबाट ५ लाख छुट्टयाएर स्थानिय युवा व्यवसायी तथा मनहरी ५ र ९ जोडने अस्थायी पुल निर्माण उपभोक्ता समितिको अध्यक्ष गोविन्द सापकोटाको अगुवाईमा गाउँ जाने राप्ती खोलामा कच्ची पुल बन्यो । राप्ती नदीको बगरमा बिहानैदेखि ठूला–ठूला सिमेन्टका ह्युमपाइप राखिँदै थिए । नदीको सुसेलासँगै बालुवाको चिसो गन्ध, वरिपरि टोलाएर दगं गरेर हेर्दै गरेका बच्चा बच्ची, बुढाबुढी र एकछिन बस्दै हेरेर फर्किँदै गरेका खेत बारीमा पुग्न हतारिएका किसानहरू । आजकल त कच्ची पुल बन्दा पनि सुशी हुन्छन् मनहरी ५का किसानहरु, यो पुल चाँडै बनेर सकियो भने हाम्रा उत्पादनहरु सहरसम्म सजिलै पुगाउन सकिन्छ, सवारी साधनहरु आवतजावत गर्न सजिलो हुन्छ, दैनिकी जीवन सहज हुन्छ । ३६ थान ह्युमपाइप र ३८ थान जाली राखेर बनाइएको कच्ची नै भएपनि मनहरी ५ का जनताको सासको डोरी हो । किनभने जबसम्म यो अस्थायी ह्युमपाइपको पुल पूरा हुँदैन, तबसम्म गाउँको जनजीवन कष्टकर रहन्छ ।

राप्तीले घेरेको ‘टापु’ जहाँ सास पनि जोखिममा छ

मनहरी गाउँपालिका ५ नेपालकै एउटा अनौठो भूगोल हो । पूर्व र उत्तर दुबैपट्टि राप्ती नदीले घेरेकोछ, पश्चिमपट्टि चितवन राष्ट्रिय निकुञ्ज र दक्षिणपट्टि पर्सा राष्ट्रिय निकुञ्ज । बाहिरबाट हेर्दा यो क्षेत्र मानौँ पृथक टापु हो, श्रीलंकाको नक्सा सम्झाउने खालको ।
तर यही सुन्दरताभित्र दुःखको गहिरो अध्याय लुकेको छ । यहाँ पुग्नका लागि नदी नै बाटो हो र नदी नै बाधा पनि । जब बर्खा लाग्छ, राप्ती उर्लन्छ, बनेको कच्ची पुलपनि खोलाले बगाउँछ, बाटो हराउँछ, अनि गाउँ अलग्गिन्छ । बाहिरबाट गाउँसम्म पुग्न नसकिने, गाउँभित्रका उत्पादन, गाउँभित्रका बिरामी बाहिर निकाल्न नसकिने, राप्तीको बाढीसँगै जनजीवन पनि बर्खा यामको ४ महिना बगिरहन्छ निरन्तर । यसपाली त ५ महिना सम्म मनहरी ५ का बासिन्दाहरुले सास्ती खेपिरहनु पर्‍यो ।

     
पक्की पुल छैन, नेता बाचा गर्छन र हराउँछन्, ज्यानमारा खोलाले बर्षेनि ज्यान बगाईरहन्छ

मनहरी ५ का बासिन्दाको लागि पुल बन्नेछ भन्ने शव्द नै एउटा वर्षौंदेखि सपना भइरहेकोछ । हरेक चुनावमा नेता आउँछन्, वाचा गर्छन्, राप्ती किनारमै हात मिलाएर जान्छन् । तर बर्खा लागेपछि उहि ताल छ ।
विगतका दशकहरूमा अस्थायी काठका, बाँसका पुलदेखि लिएर हेमपाइपका पुलसम्म बने तर सबै अस्थायी, सबै असुरक्षित बने । स्थानीय बुढापाकाका अनुसार २०४३ साल तिर कास्कीबाट मनहरी ५ को भोजसिद्ध माध्यमिक विद्यालयमा पढाउन आउनु भएका शिक्षक बलराम पौडेल, जो निकै राम्रो कविता पनि सुनाउने गर्नु हुन्थ्यो रे, उहाँलाई यही राप्ती खोलाले बगाएर निधन भयो, त्यो समय उहाँसंगै वडाका बिद्यार्थीहरुको शिक्षा समेत बग्यो । यस्ता घटनाहरु प्रत्यक बर्षको बर्खा लागेपछी हामीले कयौं पटक देख्यौ । २०७० साल अघि हरेक वर्ष बर्खामा २/४ जना खोलामा बगेर ज्यान गुमाउँथे । २०७० सलमा पहिलो झोलुङ्गे पुल बनेपछि केही सहज भयो । त्यसपछी भने यस्ता घटना खासै भएकाछैनन् तर केही वर्ष त नदीले सवारी साधनसमेत लत्यायो, दुई बर्ष अटो, बोलेरो र ट्रक समेत बगायो । यसै बर्ष असोजको बाढीले पनी ट्याक्टरलाई समेत खोला तर्न नसक्ने अबस्था आयो ।
अहिले गाउँ प्रबेश गर्न २ वटा झोलुङ्गे छन् । एउटा रजैयाबाट दर्दरा जोडछ् भने अर्को जैसिङबाट बसन्तपुर जोड्छ । झोलुङ्गे पुल बनेपछि पैदल यात्री बाँच्न थाले तर सवारी साधन आवतजावत गर्न नसकेको पिडा उस्तै छ । आज पनि हरेक वर्ष बर्खा सुरु भयो कि यो गाउँ पृथक् टापुमा रूपान्तरण हुन्छ । किसानको तरकारी खेतमै कुहिन्छ, गर्भवती महिला अस्पताल नपुगी प्रसूति पीडामा अड्किन्छिन्, एम्बुलेन्स आउने पुल हुँदैन, नदी सुन्दर छ तर निर्दयी पनि त्यत्तिकै ।


अस्थायी पुल, ज्यान जोखिमको बाटो

हिउँदको मौसममा आठ महिनासम्म ह्युमपाइपको पुल चल्छ । यही बाटोबाट मोटरसाइकलदेखि ठूला बससम्म गुड्छन् । कहिलेकाहीँ त दुईवटा अटो ठोक्किएला जस्तै गरि हुइकाउछन् अटोचालकहरु । ह्युमपाइप हल्लिन्छ, अनि नदीमाथि उभिएका सबैको मुटु काप्छ । ज्यानभन्दा काम ठूलो हो, पुल नहुँदा त जीवन नै ठप्प भएजस्तो हुन्छ नि भन्दै कच्ची पुलबाट सवार गर्न बाध्य छन् गाउँलेहरु ।
वर्षेनी जस्तै यो वर्ष पनि मनहरी ५ का वडा अध्यक्ष दीपेन्द्र अधिकारीको पहलमा र स्थानिय युवा व्यवसायी गोबिन्द सापकोटाको अगुवाइमा अस्थायी हेमपाइपको कच्ची पुल बनेको छ । अब भने नेपालीहरुको महान चाड तिहारको लागी स्थानियहरुलाई केही सहज हुन पुगेको छ ।


राप्ती किनार, हात्ती, बाघ र गैडाको छायाँभित्र जीवन

मनहरी ५ को अर्को यथार्थ डर हो वन्यजन्तु । यो वडा पर्सा र चितवन गरि दुई राष्ट्रिय निकुञ्जबीच अड्किएकोले गैडा, हात्ती, बाघ, मृग, बँदेल र चितुवाको आवतजावत सामान्य कुरा हो । प्रत्येक वर्ष खेतबारी जोत्न जाने किसानहरूलाई हात्तीले लखेट्ने, बाघले घरमै आएर बाख्रा तान्ने, मान्छे मार्ने, हात्ती, गैडाले बाली नष्ट गर्ने यस्ता खबरहरू प्रायः प्रत्यक्ष, देख्न र सुन्न पाइन्छ । हामीपनी धेरैपटक गयौं राती ठुला ठुला टर्च बोकेर हात्ती, गैडा धपाउन ।
दमारका सरोज स्याङ्तान भन्छन, कहिलेकाहीँ रातभर बाघको गर्जन र नदीको गर्जन मिसिन्छ, सुतेकैबेला हात्तीले घर भत्काउछ कि भन्ने डर हुन्छ, राम्रोसंग सुत्न सकिँदैन ।
राप्तीको बाढी र जङ्गली जनावरको आतंकबीच पनि यहाँका जनता खुट्टाको टिका लगाएर राती खेततिर जान्छन्, जंगली जनावरले बाली नष्ट गरे/नगरेको हेर्न र हात्ती गैडा धपाउनको लागि ।

कृषि र उत्पादनको मुटु, पुल अभावले थलिएको अर्थतन्त्र

मनहरी ५ डिल्लिपुर/बसन्तपुर एउटा सामान्य गाउँमात्र होइन, पश्चिम मकवानपुरकै सबै भन्दा ठुलो अन्नको भण्डार हो । बिशेष गरि धान, मकै, गहुँ, तरकारी, दूध उत्पादनको हिसाबले यो वडा अग्रणी स्थानमा छ । करिब ७,८०० जनसंख्या मध्ये अधिकांश कृषिमा निर्भर छन् ।
दैनिक हजारौं लिटर दूध र सयौं क्विन्टल तरकारी हेटौंडा र नारायणगढ लगायत ठाउँहरुमा निर्यात हुन्छ । तर जब बर्खा लाग्छ, बर्खासंगै पुल बगाउँछ, उत्पादन पनि रोक्नुपर्ने बाध्यता हुन्छ । वडामै भैसी पालेर दैनिक ४०० लिटर दुध उत्पादन गरिरहेका युवा व्यवसायी अभिषेक अधिकारी भन्छ्न हामी किसान हौँ, हाम्रो उत्पादन बजार पुग्न नसकेपछि हाम्रो पसिना नदीमा बिलाउँछ, दुध फाल्नुपर्ने अवस्था आउँछ, तरकारी बारीमै कुहिन्छ तर पुल बनेपछी सबैकुरा सहज हुन्छ भन्नेमा हामी ढुक्क छौं ।


अधुरो पक्की पुल, अपूर्ण सपना तर कहिले प्रतिक्षा गर्ने ?

२०८१ सालमा सुरु गरिएको पक्की पुल निर्माण अहिलेसम्म आधा कामपनि हुन सकेको छैन । योजना अनुसार २०८३ बैशाखसम्म पूरा हुने भनिएको पुलको काम हालसम्मपनि बन्न सकेको छैन । तर वडा अध्यक्ष अधिकारीका अनुसार अहिले पनि कामको गति तिब्र छ । निर्माण कम्पनीले ढिलासुस्ती गरेपछि केही समय अगाडी स्थानिय युवाहरुले सामाजिक सञ्जालमा बिरोध अभियान नै सुरु गरे । अहिले वडा कार्यालय र पालिकाको ताकेतामा पुल तिब्र गतिमा बन्छै छ ।
अघिल्लो बर्ष यो समाचार तयार गरिरहँदा वडा अध्यक्ष दीपेन्द्र अधिकारीले भन्थे यो पुल वडाबासीको सबैभन्दा ठुलो सपना हो । मेरो कार्यकाल नसकिँदै पुल सम्पन्न गर्न म एकदम लागी परेकोछु । पुल छिटो सम्पन्न गर्नको लागि हामी दिनरात लागीपरेका छौ । यस पुल निर्माण गर्नकोलागी हामीले स्थानिय तह, प्रदेश देखि केन्द्र सम्मको ढोका कयौं पटक ढकढकाएपछि बल्ल निर्माण कार्य सुरु भएको हो । बागमती प्रदेश सरकारको बजेटमा निर्माण भईरहेको पुलमा हामिले सहजिकरण गरिरहेका छौँ । पुस्तौँ पुस्ताको सपनालाई हामीले यस पटक धेरै दुःख गरेर पुरा गर्ने अवसर पाएकाछौ, वडाबासीको यो सपना पुरा गर्न म ज्यानको बाजी लगाएर भएपनि छिट्टै सम्पन्न गर्न तत्पर रहनेछु । ‘काम रोकिएको छैन, तर काम भईरहेको छ भन्दै ढाडस दिएका थिए ।
यस बर्ष पनि पक्की पुल निर्माण स्थल कै १०० मिटर माथि तिर कच्ची पुल बनाउँदै गर्दा हामिले पुनः प्रस्न गर्‍र्यौ, पक्की पुल कहिले बन्छ वडा अध्यक्ष ज्यू ? उहाँको जवाफ फेरि उस्तै छ । बिचमा काम रोकिएको थियो, अहिले तिब्र गतिमा काम गईरहेको छ । ३ स्प्यान ढलान भईसकेको छ अब ३ स्प्यान ढलान हुन बाँकी छ । यही आर्थिक बर्षमा पुल सम्पन्न हुनेछ, उहाँले गर्वका साथ भन्नुभो । तर, २०८१ मा निर्माण सुरु भएको पुल २०८३ बैशाखमा सक्किनुपर्नेमा २०८३ कार्तिकको अन्तिम भईसक्दा समेत आधा मात्र पनि सम्पन्न हुन सकेको छैन, आधा बाँकी नै रहेको काम वडा अध्यक्षले ५ महिना भित्र सम्पन्न हुन्छ भन्दै ढाडस दिँदा भने स्थानियहरुले बिस्वास गर्न सक्ने अवस्था छैन । तर ५ महिना भित्र निर्माण कार्य सम्पन्न हुनेमा भने अध्यक्ष अधिकारी ढुक्क छन् ।

अभाव र आशा बिच राप्तीमाथि नयाँ सपना

बन्दै गनेको पक्की पुल एउटा फलाम र कंक्रिटको संरचनामात्र होइन, मनहरी ५ का जनताको पुस्तौँदेखिको सपनाको रूप हो । पुल बनेपछि बिरामी एम्बुलेन्समै अस्पताल पुग्नेछन्, किसानका उत्पादन गाडी चढेर बजार पुग्नेछन्, सवारी साधनहरु सहजरुपमा आवत जावत गर्नेछन् । वडाको बिकास हुनेछ, बालबालिका बर्खामा स्कुल पुग्नेछन् अनि गाउँका युवाले गाउँमै लगानी गर्न डराउनुपर्ने अवस्था आउँदैन । सामान्य व्यवसाय गर्नकोलागी पुल पारीको रजैया, मनहरी र हेटौंडा पुग्नु पर्दैैन । व्यवसाय देखि लिएर फार्म, उद्योग खोल्ने सपना वडामै देख्नेछन् स्थानिय वडाका युवाहरुले रोजगारी पाउनेछन् । पुल बनेपछि राप्तीले यहाँका जनतालाई बगाउने होइन, बचाँउनेछ ।
तर बिडम्बना आज पनि राप्तीको धारमाथि हेमपाइप जोडिनुपर्ने अबस्था छ, मानौँ जीवनका असंख्य टुक्रा जोडिँदै छन् । हेमपाइपका फाटाहरू सिमेन्टले बुनेझैँ गाउँलेका सपनाहरू आशाले टालिएका छन् । हरेक हिउँदमा मोटरबाइक, त्यहाँका उत्पादनहरु दुध, अन्न र तरकारी बोक्ने गाडी, एम्बुलेन्सलगायत ठूला ठुला बस गुडछन्, गाउँलेको मुटु पनि कम्पिन्छ तर उनीहरू रोकिँदैनन् । किनभने उनीहरू जान्दछन्, यो कच्ची पुल बन्नासाथ बाटोमात्र खुल्दैन, जीवन खुल्छ । जब त्यो पक्की पुल बनेर राप्तीमाथि फैलिनेछ, त्यो दिन मनहरी ५ को मुटु पनि स्थिर हुनेछ, राप्तीको धार बिलय हुनेछ र राप्तीको गर्जन शान्त हुनेछ, वडाबासीको सपना पूर्ण हुनेछ ।

यो पढेर कस्तो महसूस भयो?

साहित्य $type=triple-post$count=9

लेख $type=triple-post$count=3

AD