नेपाली राजनीतिक आन्दोलनका उहापोहमा दुबोका शित झैँ टल्कन्छन् गुरूबाहरू । जसले उतिबेला दिबिया बालेर रातभर शिक्षा र क्रान्तिको चेत रोपे । बिहान उठ्दा नाकको प्वालभरि दिबियाको कालो जालोले कालो न फुस्रो हुन्थे । दिनभर विद्यालयका कालोपाटीमा सेतो चकको धूलो र रातभर बत्तीको धूँवाको कालो । यसरी कठोर मेहनतले व्यवस्थाविरूद्ध छेडिएको जेहादको अन्तिम किस्ता हामी भुक्तान गरिहेका छौँः विश्वमै कान्छो प्रधानमन्त्री ! उनको पार्टीको उद्गमथलो चितवन । जहाँ यी पंक्तिहरू लेखिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी चौथो वर्ष पार हुँदै गर्दा सिंगो सरकारका सकल मन्त्रीगण, विद्वान, बुद्धिजीबी, इञ्जिनियरदेखि निवर्तमान एमाले–कांग्रेस–नेकपा–राजावादीहरू आइपुगेका थिए प्रथम महाधिवेशनमा । घण्टी बजाएर समर्थन जनाइदिए गगन थापा र राजेन्द्र लिङ्देनले पनि ।
देश गतिमा जाला । लयमा जाला । या हामी शितको दुबोको महकमा लठ्ठिन्छौँ र क्षणभरमै घामका किरण शित सुकाउँछ । प्रसंग शिक्षकको हो । २०६३ को जनआन्दोलन दोस्रो शृंखलासम्म शिक्षकहरूको अतुलनीय योगदान थियो । कृष्णबहादुर महरा, चित्रबहादुर केसी, झलनाथ खनाल, पुष्पकमल दाहाललगायतका यावत् शिक्षकहरूको अवतार गाउँ बदल्ने र क्रान्तिचेत छर्ने बलिष्ठ शिक्षकका रूपमा स्थापित थियो ।
देशमा जनयुद्धको रापताप भइन्जेल यिनै शिक्षक थिए राज्यका प्रतिनिधि । गाउँका चौकी र ब्यारेक सहरमा रमाना भएका थिए । गाउँले सहरमा नूनतेल किन्न आउँदा आतंककारी नै आएजस्तो थियो सत्ताको उन्माद । गाउँमा क्रान्तिकारीलाई चन्दा बटुल्नदेखि सहरकालाई आतंककारी गतिविधिको सूचना यिनै शिक्षकले दिएको पत्याउनु पर्ने युग थियो । यति मात्रै होइन, विदेशमा भएकाले पत्नीलाई पैसा पठाउँदा सहरबाट ल्याइदिने र गाउँका महिला बजार जानु परे साथी यिनै शिक्षक थिए । गाविस सचिवसमेत सहरको डेरामा थिए । उनलाई पनि यिनै शिक्षकले ‘हो’ भने सिफारिस बन्थ्यो । ३–३ महिनामा पैसा आउने भएकाले शिक्षकसँग पैसा हुन्थ्यो, गर्जो टार्ने ससाना सहकारी र लघुवित्त मात्र होइन बैंक नै थिए हाम्रा प्रिय गुरूबाहरू ।
देशमा गणतन्त्र घोषणा भयो । यसपछि शिक्षकका दिन सकिए । यति मात्रै होइन, राजनीतिक चेत भर्ने गैरसरकारी संस्थाहरू २०७४ को स्थानीय सरकार गठनपछि कमजोर भए । अचेल भएका गैरसकारी संस्थाहरू पहिलाजस्तो ‘चार पाउ मसला’ बाँडेर ‘१२ पाउ मासु’ जोहो गर्दैै सुकिलामुकिला हुनसक्दैनन् । हिजो कत्रो शान थियो गैरसरकारी संस्थाहरूको । अहिले उनीहरू पालिका सरकारका सहकर्मी मात्र हुन् ।
अब मिडियाको कुरा गरौँ । छापा पत्रकारहरूको जगजगी थियो । भर्खर खुलेका टिभीहरू हामीले लेखेका समाचार पढ्थे । रेडियोले हामीले लेखेका समाचार पढ्थे । कायाकैरनले यसरी छापा पत्रकारहरूको भविष्य खाइदेला भन्ने कल्पना गरेनौँ । तर पछि यस्तो भयो कि टिभीले आफ्नै समाचार बनाउन थाले । रेडियोको समाचारले त्यही कायाकैरन बलियो भयो । हामी उनीहरूको समाचार पो पच्छ्याउन थाल्यौँ । जबकि हाम्रा समाचार पढेर उनीहरू स्थापित भए । हामी विस्तारै ‘हस्ते’ हुँदै पत्रकारिताबाट ‘नमस्ते’ हुने अवस्थामा पुथ्यौँ । किनभने उनीहरू प्रविधिमैत्री भए । कम्प्युटर टाइप गर्ने पत्रकार आए । कुल इडिट चलाउने पत्रकार आए । हामी ताउकापीमा हातले लेखेर कम्प्युटर अपरेटरलाई टाइप बुझाउने हस्ते पत्रकार भयौँ ।
तपाईंहरू पत्याउनु हुन्न होला, चितवनको स्थापित दैनिक पत्रिका चितवन पोष्ट सुरू हुँदाताकाका पत्रकार हौँ हामी । उपसम्पादक सूर्यप्रकाश कँडेल, चिफ रिपोर्टर भइटोपलेका हामी पत्रकारहरूको भन्दा कम्युटर अपरेटरको तलब बढी थियो । नाम नभनौँ, कम्प्युटर अपरेटरको पत्रिका अफिसमा कत्रो शासन चल्थ्यो, ‘मोजा पनि फुकालेर आउनू, कम्प्युटरमा भाइरस सर्छ’ भन्थे । अहिले ती कम्प्युटर अपरेटर देख्दा गाला चड्काइदिन मन लाग्छ, तर कानूनले फेरि रोक्छ, अर्को युट्युबरले भेट्यो भने, ‘देखो ए ज्यानलेबा हमलाकार’ भनेर हामीलाई ‘भ्युज’मा बेचिदिन सक्छ, ‘न्युज’ बन्न सक्छ । तक्रिबन तक्रिबन कुरा के हो भने, हामी छापा पत्रकारहरू प्रविधिमा जान सकेनौँ भने संसारबाट लोप हुँदै गरेको डाइनोसर हुन्छौँ । जसरी हाम्रा गुरूबाहरू अलप भए । गैरसरकारी संस्थाहरू हराउँदै गए । रेडियो टिभीको जगजगीले पत्रिका भेन्टिलेटरमा छ । अनलाइन आएपछि रेडियो र टेलिभिजनलाई अक्सिजन नै दिनु पर्ने भयो । यी तिनैलाई फेरि युट्युब र भिडियोआधारित पत्रकारिताले खाइदियो । यी सबै पनि टिकटक, फेसबुक र युट्युबमा जान थाले । नेपालका ब्रान्डेड पत्रिकाका प्रधान सम्पादकहरू रिल बनाएर बस्ने दिन आए ।
हामीले आफूलाई अद्यावधिक कति गरेका छौैँ ? सरकारी विद्यालय बढेर आएको हुँ, यसकारण अंग्रेजी कामचलाउ छ । अहिलेका पुस्ता सामुदायिक विद्यालय पढेर आएका हुन्, यसैले उहाँहरूको नेपाली भाषा झूर छ । उनान्चालीस भनेको कति बाबा भन्ने छोरीलाई ‘थर्टी नाइन’ भन्नु परेपछि मजस्तै खाइनखाइ छोराछोरीलाई सामुदायिक विद्यालय पढाउने बाआमाको मेहनतको फल त हो यो सबै ।
अहिले पत्रकारिता सोसाइटल प्लेटफर्ममा दयाको भिख मागिरहेको छ । आज मेयर, वडाध्यक्ष, सिडिओ, एसपी भेटिएन भनेर समाचार पूर्ण भएन भनेर लेख्न, प्रसारण गर्न रोकिन्छु । समाचार सन्तुलित लेख्नुपर्छ भन्ने एउटा विश्वव्यापी सिद्धान्तमा हामी रोकिएका छौँ । तर अहिले अस्पतालको अप्रेसन थियटरबाट प्रत्यक्ष प्रसारण हुन थाल्यो । सिडिओ अफिस गेटबाट सिडियोलाई फोन लगाउँदै ‘उठाएनन्’ भन्ने ‘अझ जनताको हितमा पत्रकारिता रे’ हिट खाइरहेको छ । गाउँमा भित्तामा झुन्ड्याइएको रेडियोमा आवाज आउँदैन । तर फेसबुकका भित्तामा रेडियोको पनि भिडियो आइरहेको हुन्छ । टिभी हेर्दा कुन टिभी भन्ने थाहै हुँदैन । अन गर्ने बित्तिकै भन्छः सामसुङ टिभी । त्यसपछि केबलवाला भन्छः मेरो टिभी । त्यो भित्र गएपछि बल्ल आउँछ कालिका टिभी । कुन टिभी–कुन टिभी ? त्यसमा पनि फेरि अर्को सन्देश आइरहेको हुन्छः नो सिग्नल । फेसबुक र टिकटक हेर्दा सबै टिभी देखिन्छन् । भनेको हामीले गर्ने कर्म नयाँ समाजमा अद्यावधिक हुनेहरू मात्र बाँचेका छन्, बाँकी सबै जसरी गणतन्त्र आएपति छापा पत्रकारहरू सकिए, छापा पत्रकारिता सकियो, त्यही अवस्थामा छन् ।
व्यवस्था परिवर्तन गरेको जनादेश साप्ताहिक, छलफल, दृष्टि साप्ताहिक, बुधबार साप्ताहिक, देशान्तर साप्ताहिकले हो । तर केपी शर्मा ओली प्रधानमन्त्री भए, छलफल, दृष्टि साप्ताहिक र बुधबार बन्द हुने अवस्थामा पुगे । माओवादी सत्तामा पुगेपछि जनादेश साप्ताहिक र जनदिशा दैनिक टाट पल्टँदै गए । त्यही नारायणगढको पुल्चोक हो, जहाँ ७ हजार भन्दा बढी जनादेश साप्ताहिक बिक्थे । यसका साक्षी चिन्तामणि पौडेल दाजु र शान्ता अधिकारी भाउजु अहिले पनि प्रेस सेन्टरको सत्तामै हुनुहुन्छ । तर आज जनादेश साप्ताहिक इतिहासको गर्तमा छ । डिजिटल अभिलेख नभएकाले यो सामाजिक सञ्जालमा पनि भेटिन्न ।
यसरी नै हाम्रो पत्रकारिता निकै घिटिघिटीमा छ । यसबाट गुजारा चल्छ भनौँ, साथीहरू दैनिक पत्रिका र रेडियोमा बोल्नेहरूले महिना के छमासमा पनि तलब पाएका छैनन् । चल्दैन भनौँ, कारवाला पत्रकार भनेर देशभरि चर्चा कमाउन अचेल काठमाडौँ बस्न पर्दैैन । फेरि पनि पत्रकारितामा नयाँ पुस्ता आइरहेका छन् । अब हामीले भिडियोआधारित पत्रकारितालाई आत्मसात् गर्न सक्यौँ भने यो इतिहास मात्रै हुने छैन, अध्ययन र अनुसन्धानको विषयमा सन्दर्भसामग्री पनि हुनेछ ।
के सुझाव दिन्छु भने, नारायणी टुडे मासिक यसले सीमित पढनदासहरूलाई आफू सेतो पानामा कालो अक्षरमा जीवित राख्दै यसका आरम्भकालील सामग्रीहरूको विस्तारै भिडियो बनाउने काममा जोडौँ । कस्तो थियो २० वर्षअघिको चितवन । कस्तो थियो पत्रकारिता, यसलाई जीवित राख्ने छापा माध्यममा । अहिलेसम्म छापिएका पत्रिकाका सामग्रीको मात्रै भिडियो बनाइयो भने एकातिर यसले रोजगारी र अर्को पुस्तालाई नियमित कमाइको बाटो बनाउनेछ । अर्कातिर छापामाध्यम जीवितै छ भन्ने देखाउँछ । पत्रकारितामा भविष्य खोजिरहेकाहरूलाई निरूत्साहित पार्न लेखिएको होइन । हिजो पत्रिका पसलमा क्लिपमा झुन्डिएको नारायणी टुडेको शान थियो, आज तपाईंको मोबाइलमा अनेक एप स्क्रोल गर्दा डिजिटल क्लिप र रिलमा नारायणी टुडे देखियो भने नारायणी टुडे मात्रै होइन, इतिहास बाँँच्छ, पत्रकारिता बाँच्छ । यसमा गरिएको लगानी बाँच्छ । समयअनुसार चल्नुपर्छ भन्ने करेन्ट चाउचाउको कथासँग जोडिन्छ । हिजो सेता चाउचाउ ‘आरएआरए रारा’ थियो । त्यसमा विनोद चौधरीले रंगीन ¥यापर र पिरो मसला हालेर ‘वाइवाइ’ बनाए । यसै पनि चाउचाउ, चिसो भात होइन, विष नै हो, अहिले सबैको जिभ्रोमा ट्वाक्क झुण्डिने करेन्ट चाउचाउ आए । जतिले नखाऊ भन्छ, त्यो भन्दा धेरैले खानेछन् । मेरो दिवंगत साथी रोशन पाठक भन्थे, ‘यो दशथरिको कुरा गरेर किन कपाल झार्छस्, ब्युटीपार्लरसम्बन्धी मात्रै पत्रिका निकाल, काठमाडौैँमा १८ हजार ब्युटिपार्लर छन् ।’ त्यतिखेरको कुरा । अहिले त झन बढ्यो होला । हो, अब हामीले जे काम गर्छौँ, त्यसलाई डिजिटल दुनियाँमा लैजानु पर्छ भन्ने सानो सुझाव एउटा एसएमएस लेखे भइहाल्थ्यो, यति लामो लेखेर समय र कागजको नास नभन्नुहोला वीरेन्द्रमणि दाइ ।
अमेरिकाबाट फोन आएको थियो एउटा साथीको, ‘युट्युबमा सबै भेटियो, अमेरिकामा जनै पनि भेटियो तर जनै मन्तरेको भिडियो भेटिएन, एउटा भिडियो बनाऊ त !’ जमाना हाम्रै हो, हामी बदलिनु पर्छ । छापा पत्रकार हुँदै यहाँसम्म आउँदा अहिलेका पुस्तासँग प्रतिस्पर्धा गर्न प्रविधि जान्नेहरू बाँचेका छन् । बाँकी पलायन भएका छन् ।
उसै पनि अब पत्रकारिता गुरूबा र गैरसरकारी संस्थाजस्तै अक्सिजन दिएर हामीले धुकधुकी बचाइरहेका छौँ । यसको अर्को विकल्प डिजिटल संस्करण नै हो । जसले विश्वव्यापी बनाउँछ र इतिहासलाई संसारभर पु¥याउँछ । नत्र अहिले गुगलमा जनादेश साप्ताहिक नभेटिएजस्तै हुनेछ । सबैको इतिहास लेखिन्न । सबै इतिहास बसन्त पराजुलीको ‘बखान’ पनि बन्न सक्दैन । अहिले पत्रकारितामा आफूलाई आफैँले बचाउने उपायमा हामी लाग्ने बेला घर्किसक्यो तर अझै गर्न सकिन्छ । सम्भावना छ ।
२०८३ असारको नारायणी टुडे मासिकमा प्रकाशित लेख ।
