Menu

हेटौँडामा मेयरमा विशालराज महतको गैरदलीय उम्मेदवारी घोषणा

Author
news-feed-2 |
November 05, 2026
Featured

हेटौँडामा सामाजिक अभियानमा सक्रिय युवा विशाल राज महतले हेटौँडा उपमहानगरको मेयरमा गैरदलीय उम्मेदवारका रुपमा प्रस्तुत हुने घोषणा गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै यसपटक हेटौँडाको मेयरको उम्मेदवार बन्ने तर कुनै पनि दलबाट उम्मेदवारी नहुने बताएका छन् ।

उनलेका आफ्नो विगतको अनुभव लेख्दै भनेका छन्, ‘पटक पटक चुनावमा पराजित भएँ, तर जनताको सेवाबाट कहिल्यै पलायन भइनँ !’

उनले लेखेका छन्, ‘चुनावमा हार्नु एउटा परिणाम हो, तर जनताको दुःखमा साथ छोड्नु मेरो स्वभाव होइन। पदमा नहुँदा पनि हेटौँडा अस्पताल, जिल्ला प्रहरी, प्रशासन, नगरपालिका, मालपोतलगायतका कार्यालयमा जनताका समस्या लिएर पुग्नु, बिरामीको सहारा बन्नु, अन्यायमा आवाज उठाउनु र अनियमितताविरुद्ध खबरदारी गर्नु र योजनाहरु दिनु मेरो दैनिकी बनेको छ।’

उनले यो यात्रा सजिलो नभएको बताएका छन् । ‘दबाब, धम्की, मुद्दा र हातपातसमेतको सामना गर्नुपरेको छ,’ उनले लेखेका छन्, ‘तर जनताको पीडा देख्दा चुप लाग्न सकिनँ। मेरो लागि समाजसेवा पद प्राप्त गर्ने माध्यम होइन, जनताप्रतिको जिम्मेवारी हो।’

‘आज महसुस गरेको छु, समस्या उठाउनु मात्र पर्याप्त छैन, अब जनताका समस्या सुन्ने मात्र होइन, समाधान गर्ने निर्णायक जिम्मेवारीमा पुगेर परिणाम दिने चाहना छ,’ उनले भनेका छन्, ‘युवा, स्वास्थ्य, शिक्षा, रोजगारी, सार्वजनिक जग्गा, वनजङ्गलको उपयोग, पर्यटन, राजस्व चुहावट नियन्त्रण, करमा सहुलियत, न्यायपूर्ण बजेट र व्यवस्थित नगर निर्माणका लागि धेरै काम गर्नु छ। जनताको आधारभूत आवश्यकता पूरा होस्, युवाहरू दुर्व्यसनबाट जोगिऊन् उत्पादन र रोजगारिमा जोडिउन र नगरवासीले आफ्नै नगरमा सम्मानपूर्वक बाँच्न पाऊन् भन्ने मेरो सपना छ।’

उनले आफूसँग पदको अनुभव नभए पनि जनताको समस्या बुझ्ने अनुभव, चुनौतीसँग जुध्ने आँट, समन्वय गर्ने विश्वास, इच्छाशक्ति र स्पष्ट योजना भएको दाबी गरेका छन् । ‘विगतका काम, संघर्ष र कमजोरीको मूल्याङ्कन गर्ने अधिकार जनतामै छ,’ उनले भनेका छन् ।

उनले जनताका पक्षमा निरन्तर उभिएको र हेटौँडा उपमहानगरपालिकाको मेयरको जिम्मेवारीका लागि तपाईंहरूले कुन आधारमा मूल्याङ्कन गर्नुहुन्छ भनेर प्रश्न पनि गरेका छन् ।

‘मलाई तपाईंहरूको साथ, विश्वास, सुझाव र मत चाहिएको छ, हेटौँडाको भविष्य कुनै एक व्यक्तिको सपना होइन, हामी सबैको साझा जिम्मेवारी हो,’ उनले भनेका छन्, ‘मेरो यात्रा पदका लागि मात्र होइन, जनताको पीडा कम गर्ने र हेटौँडामा सकारात्मक परिवर्तन ल्याउने यात्रा हो।’

उनले जनताको पक्षमा न्यायको आवाज सधैँ उठाइरहने बताएका छन् । आगामी स्थान्ीय तह निर्वाचनका लागि मेयरको घोषणा गर्ने महत पहिलो उम्मेदवार बनेका छन् ।

यो पढेर कस्तो महसूस भयो?

साहित्य $type=triple-post$count=9

लेख $type=triple-post$count=3

AD