वीरगंज , कार्तिक २८ –
छठ पर्वलाई शान्तिपूर्ण, सुरक्षित र मर्यादित रूपमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय पर्साले सर्वसाधारणसँग विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
प्रशासनले सार्वजनिक अपिल जारी गर्दै छठ पर्वका क्रममा आगलागी तथा मानवीय र भौतिक क्षति हुन नदिन पटका, आतसबाजीजस्ता विस्फोटक पदार्थको ओसारपसार, बिक्री, वितरण तथा प्रयोग नगर्न अनुरोध गरेको छ। यस्ता गतिविधि गरेको पाइएमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनीसमेत दिएको छ।
त्यस्तै, छठघाट तथा पोखरीमा पूजा र अर्घ्य दिने क्रममा बालबालिका, वृद्धवृद्धा तथा सर्वसाधारण डुब्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ। सम्भावित दुर्घटना तथा विपद्को तत्काल उद्धारका लागि आवश्यक उपकरणसहित सुरक्षा टोली तयारी अवस्थामा राखिने जनाएको छ।
प्रशासनले छठको धार्मिक मर्यादा र पवित्रता कायम राख्न कात्तिक २८ र २९ गते छठ पूजास्थल तथा घाट वरिपरि माछा, मासु र मादक पदार्थको बिक्री, वितरण तथा सेवन पूर्ण रूपमा बन्द गर्नसमेत अनुरोध गरेको छ।